नेपाल-चीनवीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा “अचम्मको युन्नान-सांग्रिला फोटो प्रदर्शनी” कार्यक्रमको भोलि दिउँसो डेढ बजे काठमाण्डौ,नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटेलमा उद्घाटन हुने भएको छ ।

भोलि शुक्रबारबाट शुरु हुने साताब्यापी फोटो प्रदर्शनीको उदघाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट हुने कार्यक्रम छ । पर्यटन तथा सँस्कृति मन्त्री योगेश भट्टराई बिशेष अतिथि रहने उक्त कार्यक्रम अकस्मात तय भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा दुबै देशको साँस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । साँस्कृतिक र भौगोलिक रुपमा नजिक रहेका नेपाल र चीनको संस्कृति,विकास,जनजीवन,प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।

युन्नान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने नेपालजस्तै पहाड,हिमालले भरिएको भूपरिवेस्ठित ठाउँ हो । यो म्यान्मार,थाइल्यान्ड,लाओस र बाङ्लादेशसङ्ग जोडिएको छ । युन्नानमा दक्षिण एशियाली देशहरूका बीस हजार बिध्यार्थी अध्ययनरत छ्न् । यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्ध रहेको छ । बर्षको एक साता यहाँ लाग्ने दक्षिण एशियाली व्यापार मेलामा नेपालका पूर्व राष्ट्रपति डा.रामवरण यादव,पूर्व प्रधानमन्त्री सुशील कोइराला र उपरास्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहिसक्नुभएको छ । भोलि हुने कार्यक्रमका निम्ति चिनियाँ राज्य परिषद र कम्युनिस्ट पार्टीको सानोतिनो सहयोग रहेको बताइन्छ ।

यसैवीच चीनका परराष्ट्रमन्त्री वाङ्ग यी यो नोभेम्बर महिनाको अन्तिम साता केही घन्टाको निम्ति नेपाल आउने तय भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया