रेश्मा घिमिरेलाई टिकटक स्टारको रुपमा चिन्ने गरिन्छ । उनले टिकटकमा बनाएका भिडियोबाटै ठूलो लोकप्रियता कमाएकी छन् । टिकटकमा आफ्नो अभिनय कला प्रस्तुत गर्नुभन्दा अगाडि उनले नेपाली फिल्ममा अभिनय गरेकी थिइन् । करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’ उनको डेब्यू फिल्म थियो । तर, यो फिल्मले उनलाई सफलताको सुख दिन सकेन ।

यसपछि उनले फिल्ममा काम गरेकी छैनन् । म्यूजिक भिडियो भने उनले दिनहुँ जसो नै गर्दै आएकी छन् । टिकटकमा लोकप्रियता कमाएपछि उनको म्यूजिक भिडियोमा राम्रो माग छ । उनले गएको दुई वर्षमा दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । उनलाई फिल्मबाट पनि प्रस्तावको कमी छैन । तर, उनी अडिसनबाट पास भएपछि मात्र फिल्ममा काम गर्ने सोचमा छिन् ।

फिल्म गर्ने विषयमा एक अन्तर्वार्तामा रेश्माले भनेकी छन्, ‘कोरोनाका कारण अहिले फिल्म निर्माण ठप्प छ । मेरो हकमा चाहिँ राम्रो प्रोजेक्ट छ र अडिसन राख्नुहुन्छ भने अडिसनबाट पास भएपछि मात्र फिल्म गर्छु । कसैको सिफारिस वा आग्रहमा फिल्म गर्दिनँ । अडिसन दिएर पास भएपछि अवश्य पनि फिल्म गर्छु ।’ आफू राम्रो फिल्मको प्रस्तावको प्रतिक्षामा रहेको उनी बताउँछन् ।

टिकटकमा १२ लाख फलोअर्स कमाएकी उनलाई ‘इन्स्टाको फोटो’ बोलको गीतले लोकप्रियताको उचाईमा पुर्‍याएको थियो । उनी अभिनीत ‘कल्लाई था छैन, गलबन्दी पछ्यौरी, डोली सजाई, हेरन कान्छी, निदाउँके सपनीमा, तिमी विजी’ लगायका गीत पनि हिट छन् । अभिनेता प्रदीप खड्काको ठूलो फ्यान बताउने रेश्मालाई टिकटक प्रयोगकर्ताले ‘एक्सप्रेसन क्विन’ समेत भन्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया