बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्रीको करिअरको आयू घट्छ भन्ने गरिन्छ । यसकारण पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतार गर्दैनन् । विवाहपछि कति अभिनेत्री अभिनयबाटै टाढा भएका छन् । कति फिल्मविहीन बनेका छन् । एकाध अभिनेत्रीलाई मात्र विवाह फापेको छ । स्वस्तिमा खड्का, झरना थापा, करिश्मा मानन्धरलगायतका अभिनेत्री विवाहपछि नै चुम्किएका हुन् ।

अभिनेत्री हर्षिका श्रेष्ठ पनि विवाहपछि अभिनयमा खासै सक्रिय छैनन् । सन् २०१५ मा भारतीय युवक प्रसुन झुन्झुन्वालासँग विवाह गरेपछि उनले फिल्म ‘मेरी कुशुम’ मा काम गरिन् । यसपछि उनी घरासयी जीवनमै व्यस्त छिन् । विवाहपछि उनलाई फिल्मबाट अफर हुन छाडेको चर्चा पनि फिल्मवृतमा चलेको छ । तर, उनी आफ्नै व्यक्तिगत कारणले फिल्म गर्न नसकेको बताउँछिन् ।

अभिनेत्री श्रेष्ठ भन्छिन्, ‘म नेपालमा नभएका कारण पनि फिल्म गर्न नसकेको हुँँ । आउँदो माघदेखि फिल्म ‘कुण्डली’ मा काम गर्ने तयारीमा छु । लामो समय भारतमा भएकाले मेकरलाई मसँग सम्पर्क गर्न पनि समस्या भएको थियो । अहिले चाहिँ नेपालमा छु । अब अभिनयलाई निरन्तरता दिन्छु ।’ उनले विवाहपछि आफू नहराएको र अभिनयबाट कहिल्यै टाढा नहुने पनि बताएकी छन् ।

उनले लकडाउनको समयमा कुमार आचार्य निर्देशित टेलिसिरियल ‘सम्बन्ध’ मा काम गरेकी थिइन् । पहिलो पटक टेलिभिजनमा काम गर्ने रहर पूरा भएकोमा उनले खुसी व्यक्त गरेकी छन् । हर्षिका भन्छिन्, ‘कोरोनाका कारण सिनेमा हलदेखि फिल्म निर्माण सबै ठप्प छ । अब यो सबै कहिले खुल्छ, टुंगो छैन । यो समयमा राम्रो स्क्रिप्टबाट अफर आएकाले टेलिसिरियलमा काम गरेँ ।’

कलाकार भएपछि ठूलो पर्दा र सानो पर्दा भनेर विभेद गर्न नहुने उनको तर्क छ । ‘सम्बन्ध’ टेलिसिरियलले आफ्नो करिअरलाई फाइदा पुग्ने विश्वास उनले लिएकी छन् । अभिनेत्री हर्षिका श्रेष्ठले ‘कामचोर, जंजीर, नागबेली, मिस्टेक, आवारा, अंगालो यो मायाको’ लगायत दुई दर्जन बढी फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअर सुखद छैन ।
https://www.youtube.com/watch?v=O-_KBq2LS7I&feature=emb_title

तपाईको प्रतिक्रिया