काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु जरुरी हुन्छ ।’

भ्रष्टाचारलाई आर्थिक अपराधका रुपमा मात्रै हेर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भ्रष्टाचारले यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने, प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक स्थायित्व हुन दिदैन, विकासको गतिलाई अवरोध गर्छ र अन्ततोगत्वा राजनीतिक प्रणालीमा नै प्रहार गर्छ । यति मात्र होइन, पछिल्ला दिनहरुमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा पुर्‍याउने, त्यसलाई अपराधजन्य कार्यहरुमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको छ ।’

त्यस्तै वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रुपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट रहेको प्रधानमन्त्रीले बताएका छन् । त्यसैले नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको पनि प्रधानमन्त्रीले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया