काठमाडौं । एप्पलको नयाँ प्राइभेसी पोलिसी पश्चात फेसबुकका सीईओ मार्क जुकरबर्ग र एप्पलका सीईओ टिम कुक आमने सामने भएका छन् । एप्पलले एप स्टोरको नयाँ प्राइभेसी पोलिसीलाई प्रयोगकर्ताका लागि जसरी राम्रो भनेको छ, फेसबुकले भने खुलेर त्यसको विरोध गरेको छ ।

फेसबुकले एप्पलको नयाँ नीति एकतर्फी रहेको बताएको छ भने एप्पलले फेसबुकका सबै सवालको जवाफ दिएको जनाइरहेको छ । यसैबीच एक ठूलो कदम उठाउँदै फेसबुकले एप्पलको पेजको भेरिफिकेसन नै हटाइदिएको छ ।

यद्यपि अहिलेसम्म फेसबुकले भेरिफिकेसन हटाउनुको कारण प्रष्ट पारेको छैन । फेसबुकमा विभिन्न ठूला कम्पनी तथा संस्थाका फेसबुक पेज भेरिफाइड छन् । एप्पलको इन्स्टाग्राम पेजमा भने अहिले पनि ब्लू टिक रहेको छ ।

एप्पलको नयाँ प्राइभेसी न्युट्रिसन नीति अनुसार सबै डेभलपरलाई एप स्टोरमा आफ्नो एप पब्लिस गर्नुअघि नै उनीहरुले कुन कुन सूचना संकलन गर्नेछन् भन्ने कुरा खुलाउनुपर्ने हुन्छ ।

अर्को शब्दमा भन्ने हो भने एप्पलको एप स्टोरबाट कुनै एप डाउनलोड गर्नु अघि नै सहजै उक्त एपको प्राइभेसी पोलिसी तपाईंले पाउन सक्नुहुनेछ । जसमा डेटा संकलन तथा एक्सेस समेत कयौं जानकारीहरु रहेका हुन्छन् ।

यसबाट कुनै एपले तपाईंको कुनै डेटामाथि के गरिरहेको छ भन्ने कुरा थाहा हुन्छ । साथै एपले तपाईंको फोनमा रहेको कुन फिचरमा पहुँच पाइरहेको छ भन्ने कुरा समेत देखाउँछ ।

एप्पलको यो न्युट्रिसन लेबल एक हदसम्म खाद्य सामग्रीको प्याकेटमा हुने न्युट्रिसन लेबल जस्तै हो । यो नयाँ नीति आईओएस, आईप्याड, म्याक ओएस, वाच ओएस र टिभी ओएसका सबै एपमा लागु हुनेछ । नयाँ नीति एप्पल स्वयम्‌ले बनाएका एपमा समेत लागु हुनेछ ।

तर फेसबुकलाई आपत्ति

एप्पलको नयाँ प्राइभेसी पोलिसीसँग फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपलाई भने आपत्ति छ । ह्वाट्सएपले नयाँ नीतिको आलोचना गर्दै एप्पलको नयाँ एप न्युट्रिसन लबल पक्षपातपूर्ण रहेको बताएको छ ।

थर्ड पार्टी एपका लागि न्युट्रिसन लेबल भएको भएको बताउँदै ह्वाट्सएपले आईफोनका एपमा प्रिइन्स्टल्ड एपको सवालमा के हुने भन्नेमा उसको प्रश्न छ ।

तपाईको प्रतिक्रिया