काठमाडौं। गत चैतदेखि कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रह्यो। त्यसबाट चलचित्र क्षेत्र पनि अछुतो रहन सकेन। तर, संगीत क्षेत्रमा भने त्यसको खासै असर परेन।

महामारीबीचमा थुप्रै म्यूजिक भिडिओ बने। धेरैले राम्रो आम्दानी पनि गरे। गायक÷गायिका, मोडल तथा अन्य कलाकारले पनि कामसँगै दाम पनि कमाए।

म्यूजिक भिडिओका लागि मोडलभन्दा पनि चलचित्र क्षेत्रका हिरो हिरोइनले राम्रो मौका पाए। पल शाह, नाजिर हसुनेदेखि राजेश हमालसम्मले म्यूजिक भिडिओमा काम गरे।

अभिनेता प्रदीप खड्काले पनि यो बीचमा दुई वटा म्यूजिक भिडिओमा काम गरे। जुन भिडिओले औसत भ्यूज पायो। त्यसपछि भने उनले म्यूजिक भिडिओतिर रूचि देखाएनन्। उनलाई म्यूजिक भिडिओका लागि अफर नआएको भने होइन। तर, उनले नै काम गर्न चाहेनन्।

स्टारडम घट्ने डरले म्यूजिक भिडिओमा काम गर्न नखोजेको आरोप उनीमाथि लागेको छ। तर, म्यूजिक भिडिओ खेलेर स्टारडम कमजोर नहुने उनको तर्क छ।

“एउटा कलाकारले अभिनय गरेर स्टारडम कमजोर हुन्छ भन्ने कुरा म मान्दिनँ। स्टारडम त उसले व्यक्तिगत जीवनमा गर्ने गलत कामबाट पर्छ,” उनले भने।

आफूले म्यूजिक भिडिओमा काम गर्दै आएको भए पनि कमर्सियल रूपमा नगरेको उनको भनाइ छ। म्यूजिक भिडिओ नगर्नुको कारणबारे प्रदीप भन्छन्, ‘‘धेरैसँग राम्रो चिनजान छ। एउटाको भिडिओ गरेपछि अर्कोलाई नाई भन्न मिल्दैन। कसैको चित्त नदुखाऊँ भन्नका लागि कमर्सियल म्यूजिक भिडिओ नगरेको हुँ।’’

आफूमा गीत छान्ने क्षमता नभएको उनको भनाइ छ। यतिबेला उनी चलचित्र ‘प्रकाश’ को तयारीमा छन्। यो चलचित्रको छायांकन माघबाट हुने बताइएको छ।

तपाईको प्रतिक्रिया