काठमाडौं। गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला इण्डरसनले छैटौं विवाह गरिन्। ५३ वर्षीया पामेलाले आफ्नै बडिगार्ड डेन हायरस्टसँग २०२० को क्रिसमसमा विवाह गरेकी थिइन्।
छैटौं पटक विवाह गरे पनि श्रीमान् भने पाँच वटा मात्र थिए। एक जनासँग उनले दुई पटक विवाह गरिन्।
उनले यसरी हिसाब गर्दा २५ वर्षको अवधिमा ६ पटक विवाह गरिन्। उनले पहिलो विवाह सन् १९९५ मा गरिरेकी थिइन्। टाँमी लीसँग उनले पहिलो विवाह गरेकी थिइन्। उनीहरूका दुई छोरा छन्। तर, तीन वर्षपछि १९९८ मा सम्बन्धविच्छेद् भयो।
त्यसपछि सन् २००६ मा गायक किड राँकसँग दोस्रो विवाह गरिन्। तर, एक वर्षमै उक्त विवाह पनि टुट्न पुग्यो।
२००७ मा रिक सालोमनसँग तेस्रो विवाह गरिन्। तर, त्यो पनि २००८ मा सम्बन्धविच्छेद् भयो। सन् २०१४ मा पामले रिक सालोमनसँग नै चौथो विवाह अथवा दोस्रो पटक विवाह गरिन्। सन् २०१५ मा फेरि सम्बन्धविच्छेद् भयो। सन् २०२० मा जाँन पीटर्ससँग विवाह गरिन्। तर, त्यो विवाह १२ दिनसम्म मात्र टिक्यो। १२ दिनको दिनमै डिभोर्स भयो।
त्यसपछि उनले छैटौं विवाह आफ्नै बडिगार्डसँग गत वर्षको क्रिसमसमा गरेकी हुन्। जुन विवाह पनि टुटेको भन्ने खबर अहिलेसम्म आएको छैन। उनको विवाहभन्दा पनि कहिले सम्बन्धविच्छेद् हुन्छ भन्ने कुरा हलिउडमा प्रमुख मानिन्छ।
उनी विकीलिक्सका मालिक जुलियन असान्जेसँग निकै नजिक छिन्। जुलियन लण्डनस्थित इक्वाडोरियन दूतावासको शरणमा थिए। त्यही समय उनी पनि सँगै थिइन्। सन् २०१० मा स्वीडेनको यात्राको क्रममा जुलियनमाथि बलात्कारको आरोप लागेको थियो। त्यसपछि उनी राजनीतिक शरणका रूपमा दूतावासमा बसेका थिए।
विवाहका कारण सधैझैं चर्चामा आइरहने पामेलाले दुई दिनअघि मात्र सामाजिक सञ्जालबाट अलग हुने निर्णय गरेकी थिइन्। उनले ट्वीटर, फेसबुक तथा इन्स्टाग्राममा कुनै पनि पोस्ट नगर्ने घोषणा गरेकी थिइन्। अबदेखि आफू सोसल मिडियाप्रति कुनै इच्छुक नरहेको भन्दै उनले त्यसबाट अलग हुने बताएकी हुन्।