- अभयकुमार राई

मोरङ– सांगीतिक समूह स्मृति ब्याण्डका मुख्य गायक ज्योति सुब्बा र गिटारिष्ट दिपेन थापा दुवै जनालाई माघ १३ गते मंगलबारको प्रस्तुति कस्तो हुने हो भन्ने कौतुहल थियो।

हुन त करिब तीन वर्षदेखि उनीहरुसहितको समूहले विराटनगरस्थित होटल ह्यारिसनमा बेलुका सांगीतिक मेहफिल सजाउँदै आएका थिए। दैनिकी त्यही हुँदा समस्या थिएन, तर माघ १३ गतेको मंगलबार अलि विशेष थियो उनीहरुका लागि।

बेलुका कार्यक्रम सुरु हुनै लाग्दा चारजना सुरक्षाकर्मीले होटलमा सुरक्षा ब्यवस्था जाँच गरे। त्यसपछि राति करिब ७ बजेर २० मिनेटमा पूर्वराजा ज्ञानेन्द्र शाह ढाकाटोपी, सेतो कुर्ता र पातलो हाफ ज्याकेटको पहिरनमा होटलमा प्रवेश गरे।

यसैकारण पनि मंगलबारको दिन विशेष रहेको स्मृति ब्याण्डका मुख्य गिटारिष्टि दिपेन थापाको भनाइ छ।

गिटारिष्ट थापाका अनुसार पूर्वराजा शाहले कार्यक्रम नसकिउन्जेल राति १० बजेर १५ मिनेटसम्म पूरै समय सांगीतिक वातावरणको आनन्द लिएका थिए। यसबीच टेबलमा उनीसँगै अन्य तीनजना अतिथि पनि रहेको बताएका थापाले सुरुमा गिटार बजाउन केही नर्भस भएपनि पछि विस्तारै सबै कुरा सामान्य भएको अनुभव सुनाए।

उनीसँगै स्मृति ब्याण्डका मुख्य गायक ज्योति सुब्बाले भने पूर्व राजपरिवार सदस्यसामु पहिलो पटक गाएको बताए।

उनले भने, ‘सधैँ झैं कार्यक्रम अतिथि आएपछि सुरु हुन्थ्यो। सो दिनपनि कार्यक्रम सुरु गर्ने तरखर हुँदै गर्दा पूर्वराजाको सवारी भयो। अनि करिब ७ बजेर २० मिनेटबाट गीत गाउन सुरु गर्‍यौँ।’

पूरै समय गफ गर्दै स्टेजमा हेर्दै गर्दा पूर्वराजा शाहले गीतको आनन्द लिएको अनुभव दुवैको छ। कार्यक्रमको सुरुवात समूहका अर्का गायक सुमन श्रेष्ठले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतबाट सुरु गरेका थिए। त्यसपछि सांगीतिक वातावरणमा पूर्वराजा घुलमिल हुँदै गएको उनीहरुको भनाइ छ।

ज्योति भन्छन्, ‘सुरुमा केही राष्ट्रिय भावनाका गीत आफै गायौँ, उहाँले मन पराउनु भयो। त्यसपछि उहाँले आफै गीतको आग्रह गर्न थाल्नु भयो। त्यसपछि हामीले पनि अलि राहत महसुस गर्‍यौँ।’

पूरा समय सांगीतिक वातावरणमा रमेका पूर्वराजा शाहले संगीतको आनन्द उठाउने क्रममा नेपथ्यको ‘चरी मर्‍यो’, हिमालयन ब्याण्डको ‘कहाँ तिम्रो मायालु’, ‘गाजलुले आँखै छोप्ने’, नारायणगोपालको ‘एउटा मान्छेको मायाले कति’, गुलाम अलीको ‘लोलाएका ती’, ‘गाजलु ती ठूला–ठूला आँखा’, जस्ता पुराना र आधुनिक गीत फर्माइस गरेका थिए।

गायक सुब्बा भन्छन्, ‘सुरुमा गाउँदा नर्भस नै थियौँ। तर जब उहाँबाट फर्माइस आयो, त्यसपछि गाउन अझ सहज भएको थियो। उहाँको सामान्य व्यवहारले थप सहज बन्दै गयो। हरेक गीतपछि उहाँले ताली बजाउनु हुन्थ्यो।’

कार्यक्रम सकिएपछि होटलका कर्मचारी र केही अतिथिले पूर्वराजा शाहसँग फोटो खिच्नका लागि अनुरोध गरेका थिए। तर, सुरुमा शाहले कलाकारसँग खिच्ने अनुमति दिएका थिए। त्यो सुनेर आफूहरु समेत थप उत्साहित भएको गिटारिष्ट थापाले बताउँछन्।

‘पूर्वराजाले कलाकारलाई प्राथमिकतामा राखेर सुरुमा फोटो खिच्ने भनेपछि हामीले फोटो खिच्यौँ। त्यसपछि उहाँले होटलका साथीहरुसँग खिच्न अनुमति दिनुभयो र होटलबाट बाहिरिनु भयो’, उनले सम्झिए।

यसक्रममा उनले छोटो शब्दमा कलाकारहरुलाई प्रस्तुति राम्रो लागेको प्रतिक्रिया दिएको थापाले बताउँछन्।

यसक्रममा पाँचजनाको समूहमा भ्वाइलनमा लेलिन खवास र ड्रम प्याडमा सजन साह रहेका थिए। १८ वर्षअघि स्थापित विराटनगरको सांगीतीक ब्याण्ड स्मृतिको ‘आमा तिम्रो’ बोलको गीतले चर्चा बटुलेको थियो।

तपाईको प्रतिक्रिया