वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन ।
वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् ।

उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर साहपनि अडिसनका लागि तयार भए । दुवैले सोमबार अडिसन पनि दिएका छन् । पहिलोपटक अडिसन दिएका उनीहरुलाई एकदमै रमाईलो लागेको छ । चलचित्रका निर्देशक माधव वाग्लेले राम्रो गर्यौं भनेका छन् ।

‘छनौट भएपनि नभएपनि अडिसनको अनुभव अविष्मरणीय रहने छ ।’ अडिसनबाट निस्केपछि उनीहरुले भने ।

वीरगञ्ज–१९ विन्दवासिनीका जय यादवले पनि अडिसनको अनुभव बटुलेका छन् । उनलाई अडिसनको दिनसम्म त्यसबारे जानकारी नै थिएन । चिनेकै दाईले सोमबार दिउँसो अचानक फोन गरेर अडिसन भईरहेको जानकारी गराए । त्यसपछि हतार हतार उनी सुरज होटल पुगे । ‘दुईवटा क्यारेक्टरको रोल गरेर देखाए । आवाज सानो भयो, बोल्ड हुनुपर्छ, अरु त ठिकै छ । पछि फोन गर्छौ भन्नुभएको छ’ जयले भने ‘पहिलोपटक अडिसन दिन पाउँदा खुशी लागेको छ ।’

प्रिन्सेज मुभिजले निर्माण गर्न लागेको चलचित्र ‘विवेक’ को छायांकन जनकपुर र वीरगञ्जको सेरोफेरोमा गरिँदैछ । किनकी लोकनाथ कोईरालले लेखेको चलचित्रको कथावस्तुले मधेस बोल्छ । त्यसैले पात्रको खोजी पनि यतै गरिएको हो । जनकपुरमा मिनापसँगको सहकार्यमा कलाकार खोजिएको छ । अन्य सडक नाटक गर्ने टोलीका कलाकारले पनि अडिसन दिएका छन् । वीरगञ्जमा दमदार अडिसन नभएपनि केहि कलाकारले उपस्थिति जनाए ।

चलचित्रमा ‘विवेक’ को भूमिकामा चर्चित कलाकार बिपिन कार्की छन् । २ बर्ष यताको अभिनयको तिर्खा विवेकबाट मेटन लागेको उनी बताउछन् । ‘सेल्फि किङ पछि फिल्म गरेको छैन, कोभिडले गर्दा प्रभावित भयो । आत्मामा एक खालको फिल्म खेल्ने तिर्खा, प्यास जागेको छ, हरहर भईरहेको छ । त्यो हरहर विवेक मार्फत पोख्छु ।’

चलचित्रको पात्रका लागि फरक समुदायमा भिज्न सक्दो मिहिनेत गरी रहेको उनले सुनाए । ‘भाषाका कुरा छन् । मैले नदेखेका नभोगेका कुरा छन्, अब्र्जबेसन गरिरहेको छु । विराटनगरको मान्छे अर्को समुदायको बन्न गईरहेको छु ।’ उनले भने ‘क्यारेक्टरलाई न्याय दिन मेहनत त गर्नैपर्छ । दर्शकमा म प्रति एक्सपेक्टेसन छ । फरक केहि आउँछ भन्ने आश गर्छन् । त्यो मलाई राम्रोसँग थाहा छ । निराश पटक्कै बनाउने छैन ।’ पात्र छनौटको मामिलामा ‘चुजी’ मानिने बिपिन ‘विवेक’ चलचित्रको कन्सेप्ट र भूमिका दुवैले लोभ्याएको बताउँछन् । ‘नेपाली चलचित्र भएपनि यसमा आवश्यकता अनुसार मैथिली र भोजपुरी संवाद प्रयोग हुन्छ ।’ उनले भने–‘काठमाडौं बाहिरको कथालाई मोफसलको कथा भनिन्छ, मलाई पटक्कै चित्त बुझ्दैन, वीरगन्ज, जनकपुर, धनगढी, बिराटनगरका कथाबाट पनि मूलधारकै चलचित्र बन्छ ।’

विपिन ‘छड्के’ बाट कलिउडको दुनियाँमा प्रवेश गरेका हुन् । मासमा चिनिएको ‘भष्मे डन’ नामक पात्रबाट हो । उनीपनि आफूलाई दर्शकको माझ ‘पशुपति प्रसाद’ को ‘भष्मे डन’ क्यारेक्टरलेनै चिनाएको स्विकार्छन् । ‘करियरको टर्निङ प्वाईन्ट हो, करियरले अर्कै बाटो समात्यो, त्यसैले स्पेसल क्यारेक्टर भष्मे डन हो ।’ कार्कीले भने ‘कामका हिसाबले र आत्म सन्तुष्टिको हिसाबले ‘हरि’ ‘जात्रा’, ‘पशुपति प्रसाद’ र ‘नाका’को क्यारेक्टरबाट सन्तुष्ट छु ।’

‘विवेक’ मा ५१ जना कलाकार हुनेमा बिपिन कार्कीले मात्रै अभिनय गर्ने पक्का भएको छ । अन्य कलाकार छनोट अडिशनबाटै गर्ने योजना रहेको निर्देशक वाग्लेले बताए । कलाकारसँगै लोकेशनको छनोटपनि भईरहेको छ । ‘लुट’ जस्तो सफल चलचित्रबाट कलिउड प्रवेश गरेका उनले त्यस पछि अन्य थुप्रै सफल चलचित्र निर्माण गरेका छन् ।
चलचित्रमा ४ करोड रुपैयाँ लगानी हुँदैछ । कोभिडले असर नगरे चलचित्रको छायांकन जेठबाट सुरु गर्नेगरि तयारी छ । छायांकन शुरु गरिएको ६ महिनामा चलचित्र तयार हुने बाग्लेको दावी छ ।

‘स्क्रिप्ट डेभलप हुँदैछ, पहिलो ड्राफ्ट आईसकेको छ । दोश्रो ड्राफ्टमा काम भई रहेको छ ।’ निर्देशक वाग्लेले भने ‘विवेक एउटा युवाको पिडा र पश्चातापको कथा हो, जुन समाज र सिस्टमले दिएको छ ।’ मिथिला, भोजपुरी क्षेत्रको कला, भाषा, सँस्कृति मात्रै नभएर मधेस आन्दोलनलाई पनि चलचित्रले समेट्ने उनले बताए ।
‘मधेसको मानिसले हेर्न चलचित्रमा यहीको कथाबस्तु हुनुपर्छ । तब मात्र उनीहरु हलसम्म पुगेर हेर्छन् ।’ उनले भने ‘ हामी त्यहि कुरा विवेकमा मधेसका युवाको लाईफमा आउने उतारचढावलाई प्रस्तुत गर्छौ ।’

त्रिभुवन विश्व विद्यालयमा अंग्रेजी पढाउने लेखक कोइरालाले ‘विवेक’ बिल्कुलै पृथक चलचित्र हुने दावी गरे । ‘मानिस भित्र प्राकृतिक संवेग र चेतना हुन्छ । चलचित्रमा चेतनाको कुरा पात्रमा भएकाले नै ‘विवेक’ नाम दिइएको हो ।’

तपाईको प्रतिक्रिया