काठमाडौं : आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रचना रिमालको स्वर, लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा थापाको छायांकन र विकास दाहालको सम्पादन छ । सार्वजनिक भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय छ ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ गीतकार राजेन्द्र थापा हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल बिशिष्ट अतिथी रहनुभएको थियो । साथै, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाली सेनाका महासेनानी सानुकाजी थापा, मेजर बिदुर बिक्रम अधिकारी, बरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतको उपस्थिती रहेको थियो ।

बरिष्ठ गीतकार थापाले अब्बल गीतमाथी बनेको भिडियोले सुनौलो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गीतको अडियो अब्बल छ । भिडियोले अझै बल पुर्‍याएको छ । अरु गीत हेर्दा-सुन्दा कति बेला सकिन्छ जस्तो लाग्थ्यो तर यो गीत हेर्दा सकिएको नै थाहा भएन ।’

पत्रकार पोखरेलले यो गीत हेर्दा सबैले आफू र आफ्नी आमा देख्न सक्ने गीत र भिडियो बनेको बताउनुभयो । उहाँले यो गीत आमा सम्बन्धी एक पृथक र उत्कृष्ट गीत रहेको जिकिर गर्नुभयो । महासेनानी सानुकाजि थापाले शब्द, सङ्गीत, स्वर र भिडियोमार्फत नेपाली सेना जोडिएको यो गीत आम दर्शकका लागि मात्र नभई नेपाली सेना कै गर्विलो गीत बन्न सफल रहेको बताउनुभयो ।

अभिनेत्री भुवन चन्दले आफूले रोजेर भिडियोमा अभिनय गर्ने गरेको बताउनुभयो । गीत अत्यन्तै मन परेको कारण अभिनय गरेको उहाँले बताउनुभयो । त्यस्तै कलाकार कमला दाहालले रेकर्डिङका बेला नै भक्कानो फुटाएको गीतमा आफूले अभिनय गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । कलाकार दाहाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)की ग्लोबल अध्यक्षसमेत हुनुहुन्छ ।

कार्यक्रममा अडियो तथा भिडियो निर्माणमा योगदान गर्नेलाई कदर पत्र प्रदान गरिएको थियो । सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालय, इन्द्र बक्स गण सुर्यविनायक, मेजर विदुर बिक्रम अधिकारी, अन्य ६ जना मेजर लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया