निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ । फिल्मका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो । तर, प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेर छायांकनमा निस्कने बेला कोरोना भिलेन बन्यो ।
पोखरालाई छायांकन स्थल तोकिएको फिल्मको कोरोनाका कारण सुटिङ गर्न सम्भव नभएपछि भारतबाट आएको टिम २० दिन नेपाल बसेर मुम्बई फर्किएको छ । निर्देशक भट्टराई भन्छन्, ‘अझै १५ जनाको टिम मुम्बईबाट आउनुपर्ने थियो । तर, लकडाउन भयो भने गाह्रो हुन्छ भनेर जेठसम्मका लागि सुटिङ रोकेको छु । तर, यस्तो स्थिति छ, जेठबाट पनि के सुटिङ गर्न सकिएला र !’
शहरीय क्षेत्र र भीडभाडमा फिल्म खिच्नु पर्ने भएकाले यस्तो अवस्थामा छायांकन गर्न नसकिएको उनी बताउँछन् । १२ जनाको टिम झण्डै एक महिना नेपाल बस्दा ठूलो खर्च भएको उनले बताए । फिल्ममा रोहितसँग अभिनेत्री दीपिका प्रसाईंले रोमान्स गर्दैछिन् । फिल्ममा नाजिर हुसेनको पनि अभिनय रहनेछ । फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म बलिउडकै हुने दीवाकरले बताए ।