कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र र रानीको स्वास्थ्यमा सुधार आएको कारण चार दिनपछि डिस्चार्ज हुने बताइएको छ ।
स्रोत भन्छ,‘आज पूर्वरानी कोमललाई आइसियुबाट माथिल्लो तलाको प्राइभेट क्याबिनमा सार्ने तयारी छ । भर्ना हुनुभएको १० दिन भयो,अब बढीमा चार दिन राखिन्छ ।’
छोरी प्रेरणासमेत संक्रमण पुष्टि भएपछि एकैदिन भर्ना भएकाले तीनै जनाको डिस्चार्ज पनि एकै चोटी गरिने बताइएको छ ।
यता,कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल भने अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । नेगेटिभ नआएसम्म घर पठाउन नमिल्ने भएकाले उहाँ २७ गते प्रधानमन्त्रीको विश्वासको मतको निम्ति संसद भवन जान नसक्ने पक्का भएको छ ।
यसबीच डलर अर्बपति विनोद चौधरीका कान्छा छोरा बरुण चौधरीको पनि नर्भिकमा उपचार भइरहेको छ । उनी प्रायः नयाँ दिल्लीमा बस्थे ।
दुई हप्ताअघि काठमाडौं आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहिँ भर्ना गरिएको हो । निकै गाह्रो भएपछि बरुणको प्लाज्मा थेरापीबाट उपचार गरिएको स्रोतले बताएको छ ।