सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा झण्डै आधाजसो कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अकुत र अवैध सम्पत्तिको छानबिनसम्बन्धी काम प्रभावित भएको छ । ३० जना अधिकृत कर्मचारीमध्ये १४ जना संक्रमित भएपछि काम करिब करिव ठप्प छ ।

संक्रमण र निषेधाज्ञाको कारण दैनिक एकाध कर्मचारीमात्र आउने व्यवस्था मिलाएर कार्यालय खोल्ने काम भएको बताइन्छ । यद्यपि विभागको नयाँ काम झण्डै एक महिनादेखि ठप्प छ ।

बैशाख महिनाको अन्तमा कर्मचारीहरुलाई तलब निकाशा गर्नसमेत गाह्रो भएको थियो । लेखा र प्रशासन फाँटका सबैलाई लागेकोले उनीहरु भर्खर मात्रै कार्यालय आउन थालेका हुन् ।
विभागमै रहेका प्रहरीमध्ये पनि झण्डै एक दर्जनको हाराहारीमा संक्रमित भएपछि अर्को समस्या थपिएको हो ।

निषेधाज्ञा शुरु भएपछि सम्बन्धित कार्यालयमा गरिएको पत्राचारको जवाफसमेत नआउँदा विभाग हात बाँधेर बस्न बाध्य भएको हो । यसबीच मुश्किलले दुई वटा फाईललाई अन्तिम रुप दिइए तापनि केही प्रमाणको बारेमा थप पुष्टि गर्न बाँकी रहेको छ।

स्रोत भन्छ ‘सूचनाको प्राथमिक स्रोत सञ्चारमाध्यमहरुमा समेत कोरोना महामारीको समाचार मात्र आउन थालेपछि विभागको सूचना स्रोतमा धक्का लागेको छ ।’

तपाईको प्रतिक्रिया