नब्बेको दशकमा चर्चित टेलिभिजन धाराबाहिक ‘टार्जन: द एपिक एड्भेञ्चर्स’मा ‘टार्जन’को भूमिकामा अभिनय गर्ने कलाकार जो लाराको विमान दुर्घटनामा मृत्यु भएको छ।

टेनेस्सी राज्यस्थित नेशभिल्लेमा रहेको एउटा तलाउमा विमान खस्दा त्यो विमानमा रहेका लाराकी पत्नी ग्वेन एस लारासहित अन्य सात जनाको पनि मृत्यु भएको टेनेस्सी राजमार्ग गस्ती दलले पुष्टि गरेको छ।

लाराको निजि ‘सेसना सी ५०१’ विमान शनिबार बिहान ११ बजे उडेको दुइ मिनेट मै पर्सि प्रिस्ट तलाउ मा झरेको थियो। मृतक सबैको लास भेटिएको र दुर्घटनाको अनुसन्धान हुने संघीय विमान प्रसासनले जनाएको छ।

सन् १९६२ अक्टुबर २ मा सान डियागो, क्यालिफोर्नियामा जन्मेका लाराद्वारा अभिनित केही सफल सिनेमाहरूमा टार्जन इन म्यानह्याटन, ह्युम्यान टाइम बम, सनसेट हिट, नाइट वार्स, डेथ गेम आदि हुन्। उनले २००२ मा संगीतमा करियर बनाउन अभिनयबाट बिदा लिएका थिए।

तपाईको प्रतिक्रिया