गौरादह नगरपालिकाको कार्यालय हिजो दिनभर जसो तनावग्रस्त रह्यो।

परिबर्तनका लागि युबा अभियान नाम गरेको समूहले नगरपालिका कार्यालय परिसरमा हुलहुज्जत गरेपछि तनावपूर्ण बनेको हो।

गत बर्षको कोरोना महामारीमा नगरपालिकाद्बारा राहतका लागि खरिदर संकलित गरिएको चामल गुणस्तरहीन् भएको र त्यसलाई नष्ट गरिएको बिषयलाई लिएर सो समूहले आवाज उठाउदै आएको छ।

भण्डारण गरिएको चामल कुहिएपछि नगरपालिकाले क्षमा माग्दै आफ्नो व्यवस्थापकीय कमजोरी रहेको स्वीकार गरिसकेको छ।तर, सो समूहले चामल नष्ट गरिएको बिषयबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको थियो।

चामल नष्ट गरिएको बिषयबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको सो समूहले विज्ञप्ति जारी गर्दै कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको थियो। बिहीबार तालाबन्दी गर्ने भनिए पनि कडा सुरक्षाका कारण तालाबन्दी हुन सकेन।

सोही समूह आज पनि नगरपालिका पुगेको थियो। सामाजिक संस्था भनिएको युवा अभियानले सामाजिक सञ्जालबाट अमर्यादित भाषामा जनप्रतिनिधिलाई जुत्ताको माला लगाएर गौरादह परिक्रमा गराउने लेखेपछी सो समूहको प्रतिकारमा स्थानीय उत्रिएका थिए। सामाजिक सञ्जालबाट अमर्यादित बिषय लेखेको र भाटासम्म हान्ने लगायतका बिषयले नगर परिसरमा विवाद भएको हो।

जनताले मत दिएर चुनेका जनप्रतिनिधिलाई जुत्ताको माला लगाउने, कालो मोसो दल्ने भनेपछि स्थानीय प्रतिकारमा उत्रिनु परेको स्थानीय सूर्यभक्त सिटौला बताउछन्। ‘जनप्रतिनिधिले गल्ति गरेमा कानून बमोजिम कारबाही गर्ने बाटो छ। तर, जुत्ताको माला लगाउने, भाटा हान्ने बिषय गलत हो।’, उनले थपे, ‘तर राहत दिनुपर्ने चामल बिगार्नु हदैसम्मको कमजोरी हो।’

नगरपालिकाले गल्ति स्वीकार गरिसकेको अवस्थामा समेत कोरोना महामारीको बेला हुलहुज्जतसहित नगरपालिकामा तालाबन्दी गर्न खोज्नु गलत रहेको गौरादह उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनकुमार राई बताउछन्।

उनले भने, ‘नगरपालिकामा तालाबन्दी गर्नु बान्छनीय होईन। कोरोना महामारीका बेला नगरपालिकाले स्वास्थ्य शाखा र दमकल सेवा मात्र प्रदान गरिरहेको अवस्थामा तालाबन्दी गरेर कामकाज ठप्प गर्नु आत्मघाती हो।’

तपाईको प्रतिक्रिया