हङकङ : हङकङको मूलधारको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् । पोखराका विपिन कर्माले सो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका हुन् ।
हङकङको मूलधारको चलचित्रमा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ चल्नेछ ।

यससँगै हङकङको चलचित्र उद्योगमा चिनियाँबाहेकका कलाकारहरूको प्रवेशको शृंखला पनि सुरु भएको छ । हङकङको सिनेमा घरहरूमा कहिल्यै फिल्म नहेरेका नेपालीहरू पनि कर्मा अभिनीत फिल्म हेर्न उत्सुक देखिएका छन् । आफ्नो समुदायका मानिसले गरेको काम भएकाले पनि गौरव महसुस भएको र टिकटको अग्रिम बुकिङ गर्ने तयारी गरिरहेको हङकङमा रहेका एक नेपालीले बताए ।

फिल्ममा कर्माले हङकङका चर्चित कलाकारहरू गोर्डेन ल्याम, लिङ जिएतोङ, माइकल, ताइबो, बेन युइनलगायतका कलाकारसँग अभिनय गरेका छन् । हङकङ, ताइवान, सिंगापुरमा प्रिमियर हुने फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् ।

दक्षिण एसियाली युवाको भूमिकामा विपिनलाई फिल्मको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ । बेरोजगारी र लागूपदार्थमा युवाको संलग्नता र परिणाम नै फिल्मको मुख्य विषयवस्तु हो ।
अन्य सामान्य लघु फिल्म र विज्ञापनमा अभिनय गरे पनि मूलधारको चलचित्रमा भने कर्माले पहिलो पटक अवसर पाएका हुन् । विगतका केही चलचित्रमा सामान्य भूमिका निर्वाह गरे पनि पछिल्लो भूमिकाले भने चिनियाँ बाहेकका कलाकारको हौसला पनि बढाएको छ ।

एक फिल्म फेस्टिभलमा आफ्नो अभिनय हेरेपछि चलचित्रका निर्देशकले उनलाई अभिनयको प्रस्ताव गरेका थिए । चलचित्रको प्रिमियरमा स्थानीयसँगै आफ्नो समुदायबाट पाएको प्रशंसाले अभिनय कर्ममा निरन्तर लाग्ने कर्मा बताउँछन् ।
गोल्डेन फिल्म फेस्टिभलअन्र्तगत १७आंै एसिया फिल्म फेस्टिभलमा ‘ह्यान्ड रोल्ड सिगरेट’ प्रदर्शन हुँदैछ । यस चलचित्रमार्फत कर्माको अभिनय यात्रा अझ झांगिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया