मुम्बई : बलिउड नायिका कंगना रनौटले गत वर्षदेखि जति चर्चा बटुलेकी छन्, त्योभन्दा बढी विवादको घेरामा पनि पर्दै आएकी छन्। उनले दिएको बयानका कारण विवादमा पर्ने मात्र होइन, अनेकन समस्यामा पनि पर्दै आएकी छन्। गत वर्ष नायक सुशान्तसिंह राजपुतको निधन भएपछि कंगनाका बयान निरन्तर चर्चामा आइरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक कंगना आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण पनि चर्चामा रहन्छिन्। केही समयअघि मोदी विरोधीहरूको विषयमा कडा ट्विट गरेपछि ट्विटरले एकाउन्ट नै सस्पेन्ड गरिदिएको थियो। भारतको पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले चुनाव जितेपछि उनले आलोचना गर्दै त्यहाँ राष्ट्रपति शासन लागू गर्नुपर्ने ट्विट गरेपछि ट्विटले हिंसा भड्काउन उद्यत् रहेको भन्दै उनको एकाउन्ट नै सस्पेन्ड गरिदिएको थियो।

विवादकै कारण गत वर्ष बीएमसीले कंगनाको मुम्बईमा रहेको अफिस भत्काइदिएको थियो। उनले केही दिनअघि काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको बताएकी थिइन्। सामाजिक सञ्जालमा उनले पहिलो पटक आफ्नो जीवनमा यस्तो परिस्थिति आएको दाबी गरेकी थिइन्। कंगनाले आफू बलिउडमा सर्वाधिक धेरै कर तिर्ने नायिका भएको दाबी गर्दै पहिलो पटक करको आधा हिस्सा तिर्न पनि समस्या भएको बताएकी थिइन्। उनले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेको दाबी गर्दै काम नभएपछि गत वर्षको तुलनामा आधा रकम मात्रै तिर्न सकेको बताएकी थिइन्।

एकपटक कंगना अर्को समस्यामा परेकी छन्। उनी आफ्नो पासपोर्ट नवीकरण नभएपछि अदालतको ढोका ढकढकाउन पुगेकी छन्। पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी मम्बे हाई कोट पुगेकी हुन्। उनले आफ्नो पासपोर्ट नवीकरण गरिदिनका लागि पासपोर्ट विभागलाई निर्देशन दिन अदालतसँग माग गरेकी छन्। कंगनाको निवेदन उपर अदालतले मंगलबार सुनुवाइ नगरे पनि अन्तिम समयमा किन निवेदन दिएको भनेर प्रश्न उठाएको छ। अदालतले कंगनालाई पुनः निवेदन दिन लगाउँदै त्यसको सुनुवाइ जुन २५ मा हुने जनाएको छ।

एक चलचित्रको छायांकनका लागि कंगनालाई हंगेरीको बुडापेस्ट जानुपर्नेछ। कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिँदैछ। उनी मंगलबार त्यता जाने र २० अगस्टसम्म चलचित्र ‘धाकड’को सुटिङका लागि बुडोपेस्टमा रहने योजना थियो। यसैले, उनले पासपोर्ट नवीकरणका लागि अपिल गरेकी थिइन्। तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेसनमा एफआईआर दर्ता गरिएको छ। सोही, एफआईआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको हो। कंगनाले मंगलबार बुडापेष्टको यात्रा गर्ने पूर्व योजना भए पनि पासपोर्ट नवीकरण नभएपछि उनी रोकिएकी छन्।

तपाईको प्रतिक्रिया