काठमाडौं । सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ । ‘यसको ठाउँमा १ साउनदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ । परीक्षण लाइसेन्सको रूपमा अहिले प्रयोग भइरहेको स्मार्ट लाइसेन्स दिइनेछ । तर, त्यसमा चिप्स भने हुनेछैन ।

त्यस्तै, साउनदेखि नै चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरेको छ । यसअघि शतप्रतिशत (१०० अंक) पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने भएको छ । तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ । अहिले प्रयोगात्मक परीक्षामा पास हुन सय अंकमा सय नै ल्याउनुपर्ने व्यवस्था छ । ‘नयाँ व्यवस्था जेठदेखि थालनी गर्ने तयारी गरिएको भए पनि निषेधाज्ञाका कारण नयाँ आर्थिक वर्ष २०७८/७९ (साउन)देखि सुरु गर्न लागिएको हो’ महानिर्देशक घिमिरेले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्देशिका २० चैत २०७७ मा स्वीकृत गरिसकेको छ । निर्देशिकाको नाम सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ रहेको छ । कार्यविधि निर्देशिकाअनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र कार्यान्वयन हुनेछ ।

लिखित परीक्षाका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह बुधबार सार्वजनिक गरेको छ । विभागले आफ्नै वेबसाइटमार्फत संग्रह सार्वजनिक गरेको हो । त्यही संग्रहबाट मात्र लिखित परीक्षाको प्रश्नपत्र तयार गरिनेछ । लिखित परीक्षा ३० मिनेटको हुनेछ भने विद्युतीय माध्यमबाटसमेत परीक्षा सञ्चालन गर्न सकिनेछ । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्ष समेटिएको सामान्य व्यावहारिक ज्ञानको विषय समेटिनेछ । १ सय पूर्णांक र २० वटा प्रश्न हुनेछन् । सबै प्रश्नको अंकभार ५ हुनेछ । अहिले पनि ३० मिनेटमा लिखित परीक्षाको समयावधि थियो भने २० वटा प्रश्न सोधिएका हुन्छन् । त्यसमध्ये १० वटाको सही उत्तर दिनुपर्ने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछ ।

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने

सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले आफैँले सवारीसाधनको व्यवस्था गर्ने व्यवस्था गरिएको छ । तर, तोकिएको निश्चित मापदण्ड भने पूरा गरिनुपर्छ । प्रयोगात्मक परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ । इन्जिन कम्तीमा ७५० सिसी हुनुपर्नेछ । व्हिल–बेस कम्तीमा २३०० मिलिमिटर लम्बाइ, चौडाइ र उचाइ कम्तीमा ३३००, १४५० र १४५० मिलिमिटर हुनुपर्नेलगायत छन् ।

त्यस्तै, मोटरसाइकल वा स्कुटरको हकमा पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सिसी भएको, ह्विल–बेस कम्तीमा १२ सय मिलिमिटर भएको हुनुपर्नेछ । यसबाहेक मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, सवारीदर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बिमा भएको हुनुपर्नेछ । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया