१५ असार, काठमाडौं । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ ।

स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने, ‘साउन ३ गतेको अन्तरवार्ता नयाँ कार्यालयमा गर्ने सूचना प्रकाशित भइसकेको छ, त्यसअघि नै हामी कमलपोखरीमा सर्छौं ।’

लोक सेवा आयोगको केन्द्रीय कार्यालय पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा थियो । त्यहाँको राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि लोक सेवा आयोग अनामनगरस्थित कार्यालयमा सरेको थियो । २०७२ को गोरखा भूकम्पमा कमलपोखरीको त्यो पुरानो भवन भत्किएको थियो ।

त्यसपछि २०७४ चैत ५ गते तीन वर्षे निर्माण सम्झौता गरिएको थियो । लकडाउन लगायतका समस्याले तोकिएको अवधिमा काम नसकिएको भन्दै पुनः ३ महिना म्याद थपिएको थियो । निर्माण सम्झौताको त्यो म्याद यही असार २५ गते सकिंदै छ ।

यद्यपि लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनालीले गत फागुनमै नयाँ भवन उदघाटन गरेका थिए ।

यस्तो छ विशेषता

आयोजना कार्यान्वयन इकाइले दिएको जानकारी अनुसार लोक सेवा आयोगको नयाँ भवन अन्डरग्राउण्डसहित ८ तलाको छ । अन्डरग्राउण्ड मात्रै दुई तलाको छ । भूकम्प प्रतितिरोधी सो भवनले १२०२.४८ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।

मूल भवनमा अध्यक्ष र सदस्यहरुको कार्यकक्ष, पुस्तकालय, अडिटोरियम हल लगायत छन् । ६० वटा कार र १ सय वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङस्थल छ । कार्यालय परिसरमा मूल भवनबाहेक सुरक्षाकर्मी र क्यान्टिन ब्लक छुट्टै निर्माण गरिएको छ ।

अनामनगरको भवनमा काठमाडौं कार्यालय

आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा सरेपछि अनामनगरस्थित भवनबाट लोक सेवा आयोगको काठमाडौं कार्यालय सन्चालन गर्ने निर्णय यसअघि मैनाली नेतृत्वको आयोगले गरिसकेको छ ।

सो निर्णय अनुसार अनामनगरको तल्लो तला काठमाडौं कार्यालयले प्रयोग गरिसकेको छ । यद्यपि ग्राउण्ड फ्लोरमा साँघुरो भएकाले अब माथिल्ला तलामा काठमाडौं कार्यालय सर्ने छ ।

केन्द्रीय कार्यालय कमलपोखरीमा सरे पनि त्यसका केही शाखा भने अनामनगरमै रहने छन् । आयोगका तत्कालीन अध्यक्ष मैनालीका अनुसारसुरक्षा निकाय र सार्वजनिक संस्थान महाशाखा अनामनगरकै भवनमा रहने छन् भने ग्राउण्ड फ्लोर पूरैलाई परीक्षा सन्चालन गर्ने हल बनाइने निर्णय भएको छ ।

मैनालीले भने, ‘अहिले साना–साना परीक्षा लिन पनि स्कुलहरुका कक्षा कोठा भाडामा लिनुपर्ने बाध्यता छ । त्यसैले ग्राउण्ड फ्लोरमा पूरै हल बनाउने निर्णय गरेका हौं ताकि पाँच सय÷हजार जनाको परीक्षा लिन अन्त जान नपरोस् ।’

तपाईको प्रतिक्रिया