नायिका तापसी पन्नुले बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी छिन् । उनले, बलिउडमा कुनै नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् ।

चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले भनिन्–‘यदि कोही नायकले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ । तर, यदि नायिकाले पारिश्रमिक बढाउँछिन् भने यसलाई ‘मुश्किल’को रुपमा हेरिन्छ ।’

उनले, दर्शकले पनि महिला केन्द्रित चलचित्रलाई खासै महत्व नदिएको गुनासो गरेकी छिन् । तापसीले भनिन्–‘जो नायकले मेरो साथमा करिअर सुरु गरेका थिए, उनीहरुको पारिश्रमिक आज मेरो भन्दा ३ देखि ५ गुणा बढी छ । जब–जब हाम्रो क्रेज बढ्न थाल्छ, यो भिन्नता अझै बढ्न थालेको पाइन्छ ।’

तापसीले दर्शकसँग पनि गुनासो गर्दै भनेकी छिन्–‘दर्शकले पनि नायकको जस्तो नायिका मुख्य भूमिकामा रहेको चलचित्रलाई सेलिब्रेट गर्दैनन् । जसका कारण, महिला केन्द्रित चलचित्रले बक्स अफिसमा आशातित व्यापार गर्न सकेका छैनन् । आज पनि हामी बजेटमाथि नै संघर्ष गरिरहेका छौं । महिला केन्द्रित चलचित्र भएकाले बजेट कम भएको मेकरले पनि बताउँछन् ।’

तपाईको प्रतिक्रिया