धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ । केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् ।

खरबुजाः

गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ । खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ । यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।

मेवाः

तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस् । मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फस्फोरस पाइन्छ । यसका थुप्रै एन्जाइमले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसमा क्यालोरी र चिल्लोपना निकै कम हुन्छ । यसले पेट फुल्ने समस्या पनि कम गर्छ ।

काँक्रोः

काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ । काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ । काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।

आँपः

आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ । सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ । यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ । यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ ।

लौकाः

लौका शरीरका लागि निकै फाइदाजनक छ । यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।

भेँडे खुर्सानीः

भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिजम बढाउनुका साथै पाचन तन्त्र पनि ठिक राख्छ । यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ । तरकारीबाहेक तपाईंले भेँडे खुर्सानी सलादको रुपमा पनि खान सक्नुहुन्छ ।

पालुङ्गोः

पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ । यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।

चुकन्दरः

चुकन्दरमा क्यालोरी निकै कम हुन्छ । यो फाइबरले पनि भरपुर हुन्छ जसका कारण लामो समयसम्म भोक लाग्दैन । चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन । बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ । यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ ।

तपाईको प्रतिक्रिया