काठमाडौं , लघु चलचित्र निर्माणका लागि तीनजनाले जनही पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार पाउनेमा ज्योत्सना सिंह ठकुरी, शान्ता नेपाली, सुनिल गुरुङ छन् । नर्थ साउथ कलेक्टिभ्सले विराटनगरमा आयोजना गरेको कार्याशालामा उनीहरूले प्रस्तुत गरेको कथा पुरस्कारका लागि छानिएको हो ।

कार्यशालामा ठकुरीको ‘एलेक्सिया’, नेपालीको ‘मुना’ र गुरुङको ‘विन्ड एन्ड हर्स’ नामक लघु चलचित्रका कथाले पुरस्कार पाएको हो । प्राप्त रकमबाट उनीहरूले १५ मिनेटको चलचित्र बनाउनेछन् । गोग्राह फिल्म कार्यशाला विराटनगरमा दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ । यो कार्यशालाको आयोजना निर्देशक तथा सिनेमा लेखक दीपक रौनियार, अभिनेत्री आशा मगराती, अध्येता भास्कर गौतमले गर्दै आएका छन् ।

यस वर्षको कार्यशालाअन्तर्गत आठ सातामा लेखनकला सिकाइएको थियो भने १२ साता निर्देशनकला सिकाइएको थियो । त्यही कार्यशालापछि स्क्रिप्टमा प्रतिस्पर्धा गरिएको थियो । जसमा उत्कृष्ट ठहर भएको तीन कथाले पुरस्कार पाएका हुन् ।

कार्यशालामा दुई सयजनाको आवेदन परेको थियो । त्यसबाट आयोजकले १२ जनालाई छनोट गरी निर्देशन र लेखनकला सिकाएको हो । चलचित्र निर्माणका लागि पाँच लाख पुरस्कार पाउँदा हौसला उच्च भएको विजेताहरूले बताएका छन् । ‘पुरस्कारले राम्रो चलचित्र निर्माणका लागि हौसला मिलेको छ,’ ठकुरीले भनिन् । पुरस्कार पाएकी नेपालीले भनिन्, ‘यसअघि छोटो चलचित्र निर्माणमा आफ्नै पैसा पर्ने गथ्र्यो । यो सहयोग हाम्रा लागि निकै महत्वपूर्ण छ ।’ गोग्राह चलचित्र कार्याशाला हरेक वर्ष गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया