काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापानसँग नेपालको सम्बन्ध पुरानो रहेको भन्दै खोप हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भएको छ । खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

तपाईको प्रतिक्रिया