अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । उनी फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ ।

यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन सकेको थिएन । अनमोलले आउँदो जनवरीबाट फिल्मको छायांकन सुरु गर्नेछन् । यसअघि उनी आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा फिल्मको छायांकन पूरा गर्ने योजनामा छन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा खिचिने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको जानकारी दिएको छ । तर, उनीसँग कागजी सम्झौता भइसकेको छैन । उनीसँग एग्रिमेन्ट गर्न निर्माण टिम चाँडै भारत जाने तयारीमा छ । नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ लाई नेटफ्लिक्समा रिलिज गर्न पनि पहल गरिने निर्देशक भट्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया