ललितपुर, २६ साउन । दि भोइस अफ नेपाल सिजन ३ को फाइनलिस्ट ज्वाला राईलाई सम्मान गरिएको छ । उनलाई ज्वाला राई जिताउ अभियानले एक कार्यक्रम गरी मंगलबार सम्मान गरेको हो ।

कार्यक्रममा ज्वाला राईले सहयोगीहरूप्रति ऋणी रहेको र उक्त ऋण राम्रा गीतसंगीत प्रस्तुत गरी तिर्न चाहेको बताए ।

कार्यक्रममा सिजन २ का फाइनलिस्ट विकास लिम्बू, यासेली योङ्हाङ, गायक/संगीतकार तथा संगीत उद्यमी अशोक मुकारुङ, गायक/संगीतकार विक्रम राई लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विकास लिम्बूले सुरुवातमा ज्वालाको समर्थनमा कोही नभएको अनुभव भएतापनि हाङ चेम्जोङलाई भेटेपछि केहि हौसला प्राप्त भएको बताए । त्यसैगरी ज्वालालाई सहयोग गर्नेहरूप्रति आभार प्रकट पनि गरे । सिजन २ मा आफूहरू फाइनलिस्ट हुँदा पनि किरात याक्थुङ चुम्लुङ र वनेम परिवारले सम्मान गरेको सम्झना गर्दै फाइनलिस्ट बन्नु नै ठूलो कुरा भएको बताएका थिए । साथै बधाई पनि दिएका थिए ।

मुन्धुमविद् कलाकार यासेली योङ्हाङले जो मान्छे लड्छ लडेर उठेको मान्छेले लक्ष्य प्राप्त गर्ने र त्यो लक्ष्य प्राप्तिको लागि ज्वालालाई शुभकामना दिए । साथै यो ज्वालाको हार नभएको बताए । “प्रतियोगिता जित्नु ठूलो कुरा हैन, मान्छेको मनलाई जित्नु ठूलो कुरा हो ।” योङहाङको भनाई थियो ।

सबैको प्रयास वाबजुद ज्वाला टप ४ मा पुगेको र टप ४ मा पुग्नु आफ्नो जित रहेको अशोक मुकारुङले बताए । मुकारुङले अझैं पनि सकेको सहयोग गर्ने भन्दै सांगीतिक उज्वल भविश्यको कामना गरेका थिए ।

ज्वाला राई जिताउ अभियानका संयोजक हाङ चेम्जोङले र्‍याली र अहिले सम्मान कार्यक्रम गरिरहँदा किन भन्ने प्रश्न आइरहेको बताए । यसको जवाफ दिँदै हाङ्ले भने –“कलाकार आँखाको नानीजस्तै हो । कला र गलालाई सम्मान गरिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ ।”

शुरुमा ज्वाला राईको प्रचारप्रसार नभएको हो कि भन्ने लागेर उनका लागि अभियान सुरु गरेको र त्यस अभियानमा धेरैजना जोडिएको हाङले बताए । उनले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया