गर्मी मौसममा स्वास्थ्यको हिसाबले खानेकुरामा धेरै ध्यान दिनुपर्ने हुन्छ । सोचविचार नगरी जे पनि खानाले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । गर्मीमा जाडोमा जस्तो पाचनशक्ति बलियो हुँदैन । जे पनि नपच्न सक्छ । त्यसैले पनि खानेकुरामा अत्याधिक ध्यान दिनुपर्ने हुन्छ । अझ हामी नेपालीले बिहान साँझ नै खाइने तरकारीमा त विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्मी मौसमा स्वास्थ्यका लागि उपयुक्त तरकारीहरु:

–लौका
गर्मी मौसमा फल्ने तरकारी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ । त्यसैले गर्मी मौसमका लागि लौका उपयुक्त तरकारी हो ।

–करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

–प्याज
गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।

–हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

–फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

तपाईको प्रतिक्रिया