दसैँमा घर जान नपाएका फौजीहरूको कथा अनि व्यथालाई गीतको रूपमा प्रस्तुत गर्ने गीतकार हुन् दीपक कोइराला । ६ वर्ष पत्रकारिता अध्ययन गरेका कोइराला सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हुन् ।

‘फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार’ देखि ‘धानकै बाला झुलाउला ( दसैँ भर्सन) सम्म उनका प्रायः गीतहरू सदाबहार दसैँ गीतको सूचीमा पर्छन् । २०६२ सालमा निर्मित दसैँ विशेष टेलिशृङ्खला ‘खसी’का लागि उनले आफ्नै भोगाइ र शब्दलाई मिसाएर एउटा गीत लेखे । गीतमा जयनन्द लामाको ‘धानकै बाला झुलाउँला’ गीतको लय राखिदिए ।

टेलिशृङ्खला भन्दा धेरै चर्चा गीतले पायो । अझै पनि यो गीत दसैँ आसपासमा बज्ने गरेको छ । सरल जीवन बिताइरहेका कोइरालाले २०६४ सालमा खुल्ला प्रतियोगितामार्फत् निरीक्षकमा नाम निकाले । त्यसपछि उनले कलाकारितालाई निर्खार्ने एक सुनौलो अवसर पाए र बने श्रव्यदृश्य शाखाको प्रमुख ।

श्रव्यदृश्य शाखामा रहँदा उनले सशस्त्र प्रहरीका सयभन्दा बढी टेलिशृङ्खला एवँ एक सय ५० वटा वृत्तचित्र लेखे । लेखन साथै निर्देशन र अभिनयमा कलाको भरपुर प्रयोग गरे ।  अहिले भने उनी  कला क्षेत्रबाट टाढा छ्न् । तर पनि नयाँ पुस्तामाझ उनी र उनका रचना उत्तिकै लोकप्रिय छन् ।

नयाँ पुस्ताले दसैँमा बिदा नपाउने दाइ भनेर चिन्ने गरेका छ्न् । हरेक वर्षको दसैँमा फेसबुकभरि उनको ‘मिम’ र ‘ट्रोल’ भाइरल हुने गरेका छन् ।

 

यही ‘मिम’ अनि उनको वास्तविक जीवन र उनको रचनाहरूको सेरोफेरोमा रहेर  प्रहरी निरीक्षक कोइरालासँग फोनवार्तामा तयार पारेको दसैँ विशेष सामग्रीः

धेरैको जिज्ञासा पनि छ, तपाईंले  यो वर्ष विदा पाउनु भयो कि भएन  ?

(मुस्कुराउँदै) हो, यसपटक भने टीका लगाउनेसम्म सौभाग्य मिलेजस्तो छ ।

पढाइ पत्रकारिता, जागिर प्रहरीमा अनि कला क्षेत्रमा चर्चित ? यात्रा कसरी यस्तो बन्यो ?

मान्छे जन्मँदै एउटा छुट्टै पहिचानका साथ जन्म लिन्छ अरे । जीवनका यात्रामा आफूभित्र भएको प्रतिभा प्रस्फुटन गर्न उपयुक्त फोरम मिल्छ कि मिल्दैन भन्ने मात्र हो । आफूमा भएको अध्ययनशीलतालाई विविध कठिनाइका साथ पढाइसँग जोड्दै करिब ६ वर्ष पत्रकारिता अध्ययन अध्यापनलाई निरन्तरता दिइयो । पछि सशस्त्र प्रहरी सेवामा प्रवेश गरियो । वास्तविकताचाहिँ राष्ट्रसेवासँगै सरकारी सेवा प्रतिको मोह पनि हो ।

फौजीको लागि आफ्नो घर माइतीघरजस्तै हुन्छ है ?

अवश्य पनि, जुनदिन सेवा प्रवेश गरिन्छ एउटा चेली जन्म घर छाडेर कर्म घर गएजस्तै हो । फौजी घर प्रवेश गरेबाट आफ्ना व्यक्तिगत स्वार्थ र चाहनाहरूलाई पैतालामुनि हाल्नुको विकल्प हुँदैन । तर चुरो कुरो के हो भने प्रतिकुलतामा अनुकूलता खोज्न एउटा फौजीले जानेको हुन्छ । जसमा ऊ रमाउँछ ।

गीतमा प्रस्तुत गरिएको शब्द र अवधारणा  तपाईंको जीवनमा  कतिको मेल खान्छ  ?

एउटा शब्द रचनाकारले कि आफ्नो जीवनको यथार्थको कि त अरूको जीवनको सत्यतालाई शब्दमा उतार्ने गर्छ अरे । संसारमा कुनैपनि लेखकले जतिनै कल्पना परिकल्पना गरे पनि कहीँ न कहीँ, कतै न कतै आफ्नो जीवनमा केहीँ न केहीँ मेल खाएकै हुन्छ भन्छन् । म त एउटा सामान्य शब्द रचनाकार मेरो वास्तविक जीवनसँग मेल खानु संयोगमात्र पक्कै पनि होइन, एउटा कटु सत्य पनि हो ।

यदि प्रहरीले  साङ्गीतिक क्षेत्रमा काम गर्न नपाउने नियम भइदिएको भए ?

गीत सङ्गीत र खेलकुद आन्तरिक बन्धुत्व र भाइचारामा एक अर्कालाई बाँध्ने महत्त्वपूर्ण कडी हो भन्ने मलाई लाग्छ । त्यसैले यो प्रश्न बन्नु आफैँमा मान्छे जन्मेपछि श्वास फेर्न नपाउने नियम भइदिएको भए भन्नुजस्तै हो भन्ने मलाई लाग्छ । व्यक्तिगत सिर्जना, कला ,विज्ञान र जिज्ञासु भावना एउटा निश्चित दायरामा प्रस्फुटन गर्न संसारको कुनै नियम कानुनले बन्देज लगाएको छ जस्तो लाग्दैन । त्यसैपनि सङ्गीतको कुनै पृथक स्थान र देश विशेषमा पृथक भाषा हुँदैन, यो विश्वव्यापी छ । हामी पाश्चात्य सङ्गीतमा पनि रमाउँछौ विविध भाषाभाषीका नेपाली गीत-सङ्गीतमा पनि रमाउँछौँ ।

 

 

 

तपाको सबै गीत चर्चित छन्, हरेक वर्ष दसैँको समयमा सामाजिक सञ्जालभरि तपाले छुट्टी पाउनु भयो कि भएन भनेर ट्रोल (मिम) हरू आउने गरेका छन् नि ! त्यो देख्दा तपाईंलाई  कस्तो लाग्छ ?

संसारमा यस्तो कोही मान्छे जन्मेको छैन, जसलाई आफ्नो प्रशंसादेखि घृणा लागोस् । म पनि त्यहीँ मान्छेहरूको भीडमा सङ्घर्ष गरिरहेको एउटा सामान्य नागरिक, मलाई पनि खुसी नलाग्ने पक्कै हुँदैन । कसैले हासोको रूपमा कसैले आफ्नो पीडाको रूपमा कसैले बाध्यता र विवशताको रूपमा यस्ता ट्रोल र मिम हालेको देख्छु ।

सबै ट्रोल र मिम सामाजिक सञ्जालमा जति छरपष्ट भएपनि म एकएक गरेर हेर्ने गर्छु र त्यहाँ आएका प्रतिक्रिया पढ्ने गर्छु । तर प्रतिउत्तरमा कुनै प्रतिक्रिया खासै दिने गर्दिनँ । प्रशंसकहरूको प्रतिक्रियामा नै एउटा कलाकार रमाउने गर्छ । व्यक्तिगत रूपमा त्यो उसको अमूल्य सम्पत्तिसमेत हुने गर्छ । त्यसैले सबैखाले प्रतिक्रिया हेर्दै एक्लै मुस्कुराउने गर्छु, कहिलेकाहीँ अलि अस्वभाविक प्रतिक्रिया पनि आउने गर्छ, जसलाई छोरा-छोरीले देखाउने गर्छन् । अनि रियाक्ट गर्न आग्रह पनि गर्छन् तर हामी फौजी आफैँमा जनताको गाली र ताली सहन अभ्यस्त हुन्छौँ । त्यसैले छोरा छोरीलाई पनि त्यो तिमीहरूलाई होइन मलाई भनेको हो, जुन मेरा लागि भगवानको प्रसादभन्दा महत्त्वपूर्ण छ भनिदिने गर्छु । उनीहरू अचम्ममा पर्छन् न !

कहिले गीत सुनेर कोही दर्शकले तपालाई छुट्टी पाउनु भयो कि भएन भनेर मेसेज गर्नु भएको छ ?

(हाँस्दै) जब दसैँको माहोल सुरु हुन्छ, दर्शक मात्र होइन आफन्त, छरछिमेक, मान्यजन, प्रियजन सबैको यही प्रश्नबाट सामाजिक सञ्जालमा मेरो बातचित सुरु हुन्छ ।  यी अनि यस्ता प्रश्नको सामना गर्नु बडादसैँको समयमा भनौँ भने यो मेरो दिनचर्या पनि हो ।

दसैँमा सबै प्रहरीले छुट्टी पाएर घर जान पाउने भए ?

छोटो शब्दमा उत्तर दिने हो भने यतिबेला हजुर ढुक्कसँग म सँग कुरा गर्न पाउनु हुँदैनथ्यो । आफ्नो श्रीसम्पत्तिलाई काँडे तारले बेर्दैमा फुर्सद हुँदैनथ्यो ।  एउटा फौजी रातभरि सुतेन भनेमात्र आम नागरिकले ढुक्कसँग चाडवाड मनाउने वातावरण सिर्जना हुन्छ । अझ भनौँ घरदेश परदेश नामक सशस्त्र प्रहरीको मैले शब्द कोरेको एउटा दसैँ विशेष गीतमा एउटा अन्तरा नै छ नि, ” फौजी सबै घर आए देशको रक्षा कसले गर्छ ?”

दसैँ र तिहारमध्य एउटा पर्वमा मात्रै बिदा मिल्ने भए तपा कुन रोज्नु हुन्थ्यो ?

म दसैँ नै रोज्ने थिएँ । किनकि दसैँ भनेको वृद्ध बुबाआमासँग आशीर्वाद लिएर जीवन सिद्धि गर्ने महान् चाड हो । बाँचुन्जेल यो अवसर प्राप्त हुन्छ भन्ने छैन ।  बुबाआमा बाँचुन्जेल जन्म दिने बुबाआमासँग टीका र जमरासहित आशीर्वाद लिने अवसर म मात्र होइन कसैले गुमाउन चाहँदैन ।  तिहारको रौनक भाइटीका हो दिदीबहिनी भनेको बाबुआमा पछि पनि आफूसँगै हुन्छन् ।  त्यसपछि दिदीबहिनीलाई नै आफ्ना अभिभावक सम्झेर चाडबाड मनाउन सकिन्छ नि होइन र ? त्यसैले मैले तपाईंको यो बाध्यकारी प्रश्नमा दसैँलाई नै रोजेँ ।

साङ्गीतिक क्षेत्रबाट हराउनु भयो नि ?

सङ्गीत र सुरक्षा दुईवटा विकल्प मेरोसामु थियो । प्रहरी सेवामा प्रवेश गर्दा म सङ्गीतमा मात्र सीमित रहने छु भनेर प्रवेश गरेको थिइनँ । गीत-सङ्गीत र कलाकारिता त पछि कर्तव्य निर्वाह र सौखको रूपमा आत्मसात् गरेको हुँ । त्यसैले केही समय राष्ट्रसेवाको अविरल यात्रामा आफूलाई अविछिन्न समाहित गरेको मात्र हुँ ।

मभित्रको कला अझै मरेको छैन ।  मेरा प्रशंसकहरूको अपेक्षालाई म त्यसै खेर जान दिने पक्षमा पनि छैन । कलाकारको नश्वर शरीर धर्तीमा विलीन हुन सक्छ तर उसको कला जीवन्त हुन्छ, कहिले मर्दैन । त्यसैले म हराएको होइन छुट्टै भूमिका र पहिचानका साथ उहाँहरूकै घर-आँगनमा सुरक्षाको मलम लगाउन अहोरात्र परिचालित छु ।

नमरी बाँचे कालले साँचे कुनैदिन म यही क्षेत्रमा अवश्य फर्कनेछु । तपाईंको प्रश्न आफैँमा सही छ म बिलाएको होइन, केही समयको लागि हराएको पक्कै हुँ । सत्य पनि त त्यही हो, बिलाएको मान्छे पुनः भेटिन असम्भव छ । हराएको मान्छे एकदिन अवश्य भेटिने छ । निकट भविष्यमै  म आफ्ना प्रशंसकहरूअगाडि केही न केही कोसेली लिएर अवश्य आउने छु ।

पुराना हिट गीतहरूलाई रि-रेकर्ड गराएर बजारमा ल्याउँ भन्ने विचार आउँदैन ?

सही जिज्ञासा राख्नु भयो । यो मेरो व्यक्तिगत सम्पत्ति होइन, यो मेरो गरिमामय सङ्गठन सशस्त्र प्रहरी बलको सम्पत्ति हो, म त एउटा पात्र मात्र हुँ । सङ्गठनले यसको आवश्यकता देख्यो भने त्यो पनि सम्भव छ ।

अब तपाईंको नयाँ गीत दर्शकमाझ कहिले आउँछ ?

म अहिले यसै भन्न सक्दिनँ । तर आउनचाँहि अवश्य आउँछ । मैले सुरुआतमात्र न गरेको हुँ । अहिले त धेरै नयाँनयाँ दसैँ गीत-सङ्गीतहरू आइरहेका छन् । कोसेली लिएर आएरमात्र भएन मिठो कोसेली पनि हुनु पर्‍यो । मेरा दर्शकहरू मिठो कोसेली खान बानी परिसक्नु भएको छ । नढाँटी भनौँ भने अहिले म पोहर परारका कोसेलीभन्दा पनि मिठो कोसेलीको खोजीमा छु, जसलाई म मेरा दर्शक र प्रशंसकमाझ पस्किन चाहन्छु । त्यसका लागि केही समय उहाँहरूले प्रतीक्षा गर्नै पर्छ ।

तपाईको प्रतिक्रिया