काठमाडौं । सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।

तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको छ ।

विधान महाधिवेशनको तीन सातापछि एमालेले बाढी प्रभावितबाहेक सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा ओलीले उन्नतस्तरको समझदारीका साथ वडा अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको दाबीअनुसार भर्चुअल माध्यमबाट अध्यक्षको सम्बोधनमा कम्तीमा पाँच लाख कार्यकर्ता सहभागी थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया