लामो प्रतिक्षापछि अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीहरुको उद्दार भएको छ। रोजगारीका लागि पुगेका तर बेरोजगार अवस्थामा रहेका ३४ जना मध्ये २ जना कात्तिक ४ गते फर्केका थिए भने काजगात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि विहान पौने १० बजे काठमाडौं आइपुग्दैछन्। उनीहरुले काबुल छाडेका छन्।
नयाँ दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपालीहरु आज काबुलबाट इरानको महान एयरलाइन्सबाट तेहरानतर्फ प्रस्थान गरेका छन्। उनीहरु तेहरानबाट साँझ अबेर दुबई पुग्नेछन्। त्यहाँबाट ३ जना फ्लाई दुबईको उडानबाट र बाँकी २९ जना नेपाल एयरलाइन्सको नियमीत उडानबाट भोलि विहान पौने १० बजे काठमाडौं आइपुग्ने कार्यवाहक राजदूत सुवेदीले जानकारी दिए।
कात्तिक ३ गते उद्दार हुने भनिए पनि ३४ जना मध्ये ३२ जना कावुल विमानस्थलबाट फर्केका थिए। उद्दार भएर आउने ३२ जना नेपालीहरुको हवाई भाडा, काबुलमा बढी समय बसेको शुल्क, पीसीआर परीक्षणको शुल्कसहित नेपाल सरकारले व्यहोर्ने भएको छ। सुवेदीका अनुसार उनीहरुको उद्दारमा लाग्ने सबै खर्च नेपाल सरकारले तीन सातामा भुक्तान गर्ने निर्णय गरेको छ। करिब १३ सय अमेरिकी डलर हवाई भाडा, प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पीसीआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्ने छ।
उद्दार गर्नुपर्ने नेपालीहरुमध्ये कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएकाहरु छन् भने कोही १८ महिनादेखि बेरोजगार भएका नेपालीहरु छन्। उनीहरुलाई शुरुमा सुरक्षा प्रदायक कम्पनीका बिचौलियाहरुले काबुलका विभिन्न होटलमा खानपिन र बसोबासको बन्दोबस्तसहित राखेका थिए। तर, उनीहरुले जागिर पाएका थिएनन्।
तालिवानले शासन लिएसँगै काबुलबाट विदेशी नागरिकको उद्दार हुने क्रममा उनीहरु विमानस्थल पुगे पनि उद्दार हुन सकेको थिएन। त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्धारा हुँदै उनीहरु काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडीजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन) मा बसेका थिए। उनीहरुलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडीजीले खानपिन र बसोबासको प्रबन्ध गरेको थियो।
शुरुमा १७ जना भारतीय, ८५ जना बिदामा आउनुपर्ने सुरक्षाकर्मी तथा उद्दार गर्नुपर्ने ३४ जना नेपाली पूर्व सुरक्षाकर्मीलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो। आउनुपर्ने सूचिमा १७ जना नेपाली मूलका भारतीय सुरक्षाकर्मी पनि भएकोले दिल्लीमार्फत् उडानका लागि आइडीजीले प्रयास गरेको थियो। भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरेको थियो। तर, काबुलबाट ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान भरेका छैनन्। काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडीजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीहरुलाई काठमाडौं उडान भर्ने तय गरेको थियो। तर, त्यो प्रयास नभएपछि विभिन्न विकल्पमा छलफल भएको थियो।