१९ मंसिर, काठमाडौं । पुस २ गतेबाट सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष अहिले प्रचारप्रसारमा दौडिरहेको छ । प्रचारको दौडका क्रममा निर्माता अर्जुन कुमार र नायिका स्वस्तिमा खड्काबीच चिसोपना आएको खबर पनि बाहिरिएका छन् । तर, स्वस्तिमाले समयले भ्याएसम्म चलचित्रका लागि समय दिएकी छन् ।

‘चपली हाइट ३’ रिलिजकै दिन नेपालमा दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपाल भित्रिँदैछ । साउथ स्टार अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो चलचित्र नेपाल भित्रिने भएपछि ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमार आक्रोशित छन् । उनी साउथ चलचित्र नेपाल भित्र्याउँदा नेपाली निर्माता मर्कामा पर्ने भन्दै यसलाई रोक्नुपर्ने बताइरहेका छन् ।

अर्जुनले साउथको हिन्दी डब चलचित्र नेपाल भित्रिँदा ‘काल’ पल्किएको टिप्पणी गरेका छन् । भोलिका दिनमा नेपाली चलचित्र बनाउनुको कुनै अर्थ नै नहुने तर्क समेत उनको छ ।

अर्जुनले यो कुराको निरन्तर विरोध गरिरहँदा ‘चपली हाइट ३’की नायिका स्वस्तिमा खड्काले भने यस्तो विषयमा बहस गर्नुको कुनै औचित्य नभएको तर्क गरेकी छन् । अनलाइनखबरसँग कुरा गर्दै स्वस्तिमाले भनिन्, ‘दुई महिनाअघिसम्म हामीले हिन्दी चलचित्रलाई नै कुरेर बस्यौं । अहिले फेरि हामी विरोध गरिरहेका छौं । यस्ता कुरामा अल्झिएर बस्यो भने चलचित्र राम्रो बन्दैन ।’

स्वस्तिमाले अगाडि भनिन्, ‘मुख्यकुरा भनेको हामीले चलचित्र नै उत्कृष्ट बनाउनुपर्छ । हामीले यस्तो चलचित्र बनाउनुपर्छ, जसले जुनसुकै भाषाको चलचित्र आउँदा पनि प्रतिस्पर्धा गर्न सकोस् ।’

स्वस्तिमाले चलचित्र एउटा व्यापार भएको बताइन् । ‘कुनै शतप्रतिशत हिट हुने विदेशी चलचित्रलाई डेढ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याएर ३ करोड फाइदा हुन्छ भने त म पनि त्यो काम गर्छु । नेपाली चलचित्रलाई माथि लैजानुपर्छ भनेर विदेशी चलचित्र नै रिलिज गर्न नखोज्ने त यहाँ को होला र ?’

स्वस्तिमाले यो विषयमा लामो समयदेखि बहस भइरहेको भन्दै यसमा झगडा गर्नुको कुनै औचित्य नभएको बताइन् ।

तपाईको प्रतिक्रिया