इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। आगामी माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन्।
पवनदीपले क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउने भएका छन्। नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।
पनवदीप १२ औं संस्करणको इन्डीयन आइडल विजेता हुन्। क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए।
कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताउन आफूहरूले इन्डियन आइडल पवनदीपलाई ल्याउन लागेको श्रेष्ठले जानकारी गराए।बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले ठमेल धानिरहेको भन्दै उनले पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको दाबी गरे।
कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगितिक कार्यक्रम आयोजना गरिने जानकारी दिए।
यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन्।