भारतका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवको पछिल्लो नेपाल यात्रा पूर्णतः अनपेक्षित र दुखद् रह्यो । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलाल प्रशासनको हस्तक्षेपका कारण कार्यक्रमस्थल पुग्न नै पाएनन्, झन् आफ्नै टिमका चार स्कारपियो गाडी जल्दा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भयो ।

धन्न दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहे । खेसरीलालसँगै नेपालमा प्रस्तुति दिन आएका कलाकारहरूका पाँचवटा गाडी उनीभन्दा अगाडि कार्यक्रमस्थल पुगेका थिए । कार्यक्रमस्थल पुगेकामध्ये एउटा गाडी भने जसोतसो जोगिए पनि बाँकी खरानीमा परिणत भए ।

खेसरीलालको प्रस्तुति हेर्न तीन सयको टिकट काटेर भुइँमा र पाँच सय रुपैयाँको टिकट काटेर कुर्सीमा बसेर कार्यक्रमस्थलमा कुरिबसेको भिडले आगजनी र तोडफोड गर्दा चार करोड रुपैयाँभन्दा बढीको क्षति भएको सुनसरी प्रहरीको प्रारम्भिक अनुमान छ । भिडले खेसरीलालसँगै आएका कलाकारका गाडीमात्र जलाएनन्, आयोजकले सजाएको स्टेज, कुर्सी, साउन्ड–सिस्टमलगायत तोडफोड गरे ।

त्यस क्रममा धन्न कुनै भारतीय कलाकारउपर हातपात तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा तथा भागदौड मच्चिएर कुनै हताहती भएन । तर उत्तेजित भिड तोडफोड र आगजनीमा उत्रेपछि महोत्सवस्थल रणमैदानमा परिणत भएको थियो ।

सुनसरीको पर्यटकीयस्थल बर्जुतालमा पुस २३ गतेदेखि जारी बर्जु महोत्सवमा मङ्गलबार दिउँसो कलाकार नआएको भन्दै आक्रोशित भिडले तोडफोड एवम् आगजनी गरेको हो । कोरोना महामारीमा ठुलो भिडभाडका साथ सञ्चालन भइरहेको महोत्सवमा सहभागी हुन जाने क्रममा कलाकार यादवलाई स्थानीय प्रशासनले होटलमै रोकेको थियो ।

दिउँसो तीन बजेसम्म कलाकार यादव महोत्सवस्थल नपुगेपछि दर्शकहरू आक्रोसित र उत्तेजित भएका थिए । मङ्गलबार १२ बजे चर्चित कलाकार यादवलाई मुख्य आकर्षणका रूपमा उतार्ने भन्दै आयोजकले टिकट बिक्री गरेको थियो ।

कलाकार नबोलाएको र आफूहरूसँग पैसा मात्रै असुलेको भन्दै आक्रोसित भिड आगजनी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण्मा लिन प्रहरीले १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

आयोजक, कलाकार र प्रहरीको दोषारोपण

बर्जु महोत्सवको अन्तिम दिन आयोजकले खेसरीलालको प्रस्तुति राख्ने भन्दै सोही दिन टिकट काटेको थियो । सुरक्षा निकायले कोभिड सङ्क्रमणको जोखिमका कारण महोत्सव आयोजना नगर्न चनेको थियो । तर अनुमति नहुँदा–नहुँदै पनि आयोजकले टिकट बिक्री गरेको थियो ।

‘हामीले ३ गते सुरक्षा निकायसँग अनुमति लिएकै थियौँ, सुनसरी प्रहरी सकारात्मक देखिएको थियो,’ महोत्सव आयोजक बर्जु सामुदायिक विकास केन्द्र चिमडीका कार्यक्रम समितिका अध्यक्ष श्रवण चौधरीले भने, ‘मङ्गलबार पनि प्रहरीहरू कार्यक्रमस्थलमै थिए । हामीले ढुक्कले टिकट काट्यौँ । तर खेसरीलाललाई प्रशासनले नै रोकेपछि यहाँ आगजनी र तोडफोड भएको हो ।’

कार्यक्रमका लागि खेसरीलाल अघिल्लै दिन चिमडी पुगेका थिए । अरू कलाकार त्यतै बसे पनि खेसरीलाललाई भने आयोजकले विराटनगर एयरपोर्टस्थित होटलमा बस्ने व्यवस्था मिलाएको थियो । कम्तीमा १२ हजारभन्दा बढी दर्शकका लागि टिकट काटिसकेपछि आयोजक टोली खेसरीलाललाई लिन विराटनगर पुगेको थियो । तर प्रहरीले उनलाई होटलमै रोक्यो, ल्याउन दिएन ।

उता खेसरीलालसँग आएका अरू कलाकार भने कार्यक्रमस्थल पुगिसकेका थिए । ‘१२ बजे मुख्य आकर्षण ल्याउने हाम्रो योजना थियो । अरू केही कलाकार कार्यक्रमस्थल आइपुगेका कारण निर्धक्क भएर टिकट काट्यौँ । पछि आउन नदिने थाहा पाएपछि प्रहरीसँग निकै अनुरोध गर्‍यौँ । किनकि हाम्रो लगानी धेरै थियो । तर प्रहरीले हामीसँग समन्वय गरेन । पत्र पठाएन, मौखिक रूपमा केही भनेन यसैकारण यत्रो ठुलो घटना घटेको हो,’ उनले भने ।

त्यतिमात्र होइन, आयोजकले कम्तिमा पनि एक हजार पाँच सय जति टिकट बेचिसकेको थियो । टिकट बेचेको पैसा भने आयोजकले पाएन । हुलदङ्गाका क्रममा टिकटबाट उठेको सबै रकम लुटपाट भयो । ‘आक्रोसित दर्शकले काउन्टरमा समेत आक्रमण गरेर हाम्रो सबै पैसा लुटेर लगे । १०-१२ लाखजति थियो होला,’ उनले भने ।

त्यसअघि महोत्सव आयोजना गर्न सुनसरी प्रशासनले अनुमति दिएको थियो । तर कोरोनाका कारण २५ जनाभन्दा बढी जम्मा हुन नदिन गृह मन्त्रालयले निर्देशन दिएसँगै प्रशासनले महोत्सवका लागि दिएको अनुमति माघ २ गते नै खारेज गरिसकेको थियो । त्यसका लागि प्रशासनले कार्यक्रम रोक्न अपिल गर्दै बर्जु गाउँपालिकालाई पत्र पठाएको थियो । तर आयोजकले रोक्न नमानेर महोत्सव प्रशासनको निर्देशनविपरीत जारी राखिएको थियो ।

सुनसरी प्रहरी प्रमुख सञ्जयसिंह थापाले कोरोना महामारीलाई लक्षित गरेर स्थानीय प्रशासनले जारी गरेको निर्देशनविपरीत कार्यक्रम गर्दा यस्तो हविगत भएको बताए । उनले भने, ‘हामीले गाउँपालिकामा पत्र पठाएरै कार्यक्रम रोक्न अपिल गरेका थियौँ । संसार कोरोनासँग जुधिरहेको अवस्था छ । बरु सङ्क्रमण दर घटेका बेला कार्यक्रम गर्नुहोला, अहिलेलाई कार्यक्रम स्थगित गरौँ भनी सुझाएका थियौँ । हामीले पटक–पटक गरेको अनुरोध अटेर गरेर आयोजकले कार्यक्रम थाल्यो । हामीले मुख्य कलाकारसँग कुरा गर्दा उहाँ सकारात्मक देखिनुभयो । आयोजकले पनि प्रशासन र कलाकारलाई छलेर कार्यक्रमका लागि टिकट बिक्री गरेका रहेछन् ।’

यता, तोडफोडबाट भएको क्षति आयोजकले पूर्ति गर्नुपर्ने कलाकार खेसरीलालको माग छ । आयोजककै गम्भीर लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनले भने, ‘प्रशासनले दुई दिनअघि नै रोक लगाएपछि महोत्सव स्थगित गर्नुपर्ने थियो । तर आयोजकले महोत्सव जारी राख्दै सबैलाई गुमराहमा पारेर कलाकारको नाम लिँदै सर्वसाधारणलाई टिकट बिक्री गरेको पाइयो । मलाई पनि ढाँटेर बोलाइयो ।’

कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उल्लेख गर्दै खेसरीलालले भने, ‘नियम नमान्नु गल्ती भएकाले घटनाको क्षतिपूर्ति आयोजकले बेहोर्नुपर्छ ।’

पैसा उठाएर टिकट बिक्री गरेको आयोजकले प्रतिबद्धताअनुसार कार्यक्रम गर्न नसक्दा घटना भएको कलाकार खेसरीलालको भनाइ छ । ‘आयोजकले प्रशासनको निर्देशनका बारेमा जानकारी दिएको भए म कार्यक्रमका लागि भनेर आउने थिइनँ,’ उनले भने, ‘तर ढाँटेर बोलाइएको मलाई प्रशासनले कार्यक्रममा जानै दिएन । प्रशासनको आदेशविपरीत कार्य गर्नु सरासर गलत हो ।’

कार्यक्रमस्थलमा पुग्न नसक्नुमा आफ्नो कुनै दोष नरहेको यादवले बताए । उनले टिकटवापत लिएको रकम आयोजकले प्रत्येक व्यक्तिलाई फिर्ता गर्नुपर्ने पनि उल्लेख गरे ।

महोत्सव रोक्नका लागि गरिएको पत्राचारको आयोजकले उल्लङ्घन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ । ‘महोत्सवको अनुमति खारेज गरिएको थियो । महोत्सव रोक्न लिखित निर्देशन दिइएको थियो,’ उनले भने, ‘तर जबरजस्ती आयोजकले महोत्सव जारी राखे । घटनाको छानबिन गरी दोषीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइनेछ ।’

अग्रिम भुक्तानीमै सबै पैसा लगेका थिए खेसरीलालले

आयोजक समितिले नाै लाख भारुमा खेसरीलालसँग डिल गरेको थियो । त्यो पैसा उनीहरूले केही समयअगाडि नै बिहारस्थित खेसरीलालकै अफिसमा पुगेर बुझाएका थिए । ‘त्यसअघि नै खेसरीलाल ल्याउने समितिले बिचाैलियाको भर पर्दा दुई लाख भारु डुबाएका थियाैँ,’ आयोजक समितिका अध्यक्ष चाैधरी भन्छन्, ‘दोस्रो पटक उहाँकै अफिस पुगेर सबै रकम बुझायाैँ । तर कोरोना सङ्क्रमणका कारण कार्यक्रममा प्रशासनले बाधा हाल्न सक्ने डरले गर्दा हामीले प्रचारसमेत गरेका थिएनाैँ । उहाँ नेपाल आएपछि प्रचार थाल्याैँ, पछि प्रहरी प्रशासनसँग सकारात्मक कुरा भयो । प्रहरीले खेसरीलालबाहेक कलाकारकाे टिमलाई कार्यक्रमस्थल आउन अनुमति दियो । तर उहाँलाई दिएन ।’

तपाईको प्रतिक्रिया