खोटाङ, ३ फागुन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण गरिएको छ । व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।

भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।

चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँ तयार पारिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत ६ जेठमा शिलान्यास गरिएको थियो ।

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । सपिङ कम्प्लेक्सको माथिल्लो तलाको अगाडिको भागमा बालबालिका खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ ।

सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले सोमबार न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरिसकेको छ । चिल्ड्रेनपार्कमा पनि शुल्क तिरेर मात्र मनोरञ्जन लिन पाइनेछ ।

तपाईको प्रतिक्रिया