पर्यटकीय मुलुक गणतन्त्र सिसेल्स अब नेपालीहरुका लागि नयाँ आकर्षक श्रम गन्तव्य मुलुक बन्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलो पटक गणतन्त्र सिसेल्सको मन्त्री स्तरीय भ्रमण गर्नु भएको छ। नेपाल र सिसेल्सको आपसी सम्बन्ध, श्रम सम्झौता तथा नेपाली श्रमिकहरुको हक हित र नयाँ रोजगारीको संभाब्यता अध्ययन तथा सरोकारवाला निकायसँग छलफलका लागि सिसेल्स पुगेका मन्त्री श्रेष्ठ सहितको भ्रमणदललाइ राजनीतिज्ञ तथा युवा ब्यवसायी शंकर प्रसाद न्यौपाने, यम प्रसाद श्रेष्ठ लगायतले सिसेल्स अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए।
मार्च १८ देखि २० तारिख सम्मको ३ दिने मन्त्रीस्तरीय भ्रमणमा रहेका मन्त्री श्रेष्ठ लगायत श्रम सचिब एकनारायण अर्याल सह-सचिब राजिव पोख्रेल, डा. थानेश्वर भुसाल र नेपालका लागि सिसेल्सका अवैतनिक बाणिज्यदुत नरेश दास सहितको भ्रमण दल सिसेल्स पुगेको थियो।
सिसेल्समा रहेका नेपाली संघसंस्था तथा सिसेल्स स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको तर्फबाट नेपाली काङ्ग्रेसका महासमिती सदस्य तथा ब्यवसायी शंकर प्रसाद न्यौपाने र मानव अधिकारकर्मि तथा युवा ब्यवसायी यम प्रसाद श्रेष्ठको बिशेष आतिथ्यतामा भ्रमणदलसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
विभिन्न क्षेत्रमा कार्यरत ३५० भन्दा बढी निपालीहरुको उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सिसेल्ससंग नयाँ श्रम सम्झौताको लागि पहल गर्ने, अबैधानिक तवरबाट नेपाली श्रमिकलाइ ठगी गर्ने गरेको गुनासो धेरै आइरहेको र यो समस्यालाइ दीर्घकालीन समाधान गर्नेगरि मन्त्रालयले काम गरीरहेको बताउनु भयो।
आइन्द्र बिक्रम योङ्या को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई परी आले मगरले स्वागत मन्तब्य दिनु भएको थियो। कार्यक्रममा संचालनमा सुरेन्द्र कुँवर, राजेन्द्र कुँवर, भरत ओड, विशन गुरुङ, विश्वजीत कार्की, कृष्ण कार्की, चिरञ्जीवी ढकाल, हरी तामाङ, रामजी बस्नेत र राजेन्द्र कुँवर (काका) को बिशेष भुमिका रहेको थियो भने सहजीकरण सिसेल्समा कार्यरत सेक्युरिटी डाइरेक्टर इलियास खानले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालकको भुमिकामा भरत बोगटी हुनुहुन्थ्यो।