ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिबासबाट प्रहरीले लागुऔषध विक्री वितरण गर्ने तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ बस्ने २३ बर्षीय दिनेश साह, २४ बर्षीय रामबाबु महतो र २३ बर्षीय जितबहादुर मगर रहेको प्रहरीले जनाएको छ।

बर्दिबासस्थित सेन्ट्रल पोइन्ट स्कुलनजिक उनीहरुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित तीनै जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट नाइट्राभेट–१० लेखिएको १२२ चक्की बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनीहरुलाई नियन्त्रणमा लिई महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ।

-annapurna post

तपाईको प्रतिक्रिया