काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उनको धारणा छ। यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगार : विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ। नेपालको संविधानले सबैखाले शोषणको अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ।