काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेपाली जनता कसैको धम्कीसँग नडराउने बताएकी छन्।छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्।

‘माओवादी अध्यक्ष प्रचण्डले मेरी छोरी जितिनन् भने देशमा संकट आउँछ भने। उहाँको छोरीमात्रै छोरी, देशका लाखौ दिदीबहिनी छोरी होइनन्?’ शनिबार पोखरामा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेतृ थापाले प्रश्न गरिन्, ‘आफ्नो छोरी बुहारी र परिवारको लागि राजनीति गर्ने मान्छेलाई नेपाली जनताले पाखा लगाउनुपर्ने बेला आएको छ।’

देशभरीका लाखौ छोरीहरुको सवालमा, देशका दाजुभाइको सवालमा नेपाल बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो भनेर आफूहरुको मनमा चिन्ता परेको उल्लेख गर्दै थापाले तर शीर्ष नेता भनाउँदाहरु आफ्नो श्रीमतीको लागि छोरीको चिन्तामा सीमित भएको बताइन्। ‘मेरो छोरीले, बुहारीले र पार्टीले जितेन भने बजेट रोक्छु भनेर धम्क्याउँछन्। मेरो पार्टीका नेताले यो ठाउँमा जितेनन् भने बजेट पठाउँदैनौं भन्छन्। कतिसम्मको दादागिरी हो यो? अब पनि नेपाली जनताहरु बन्दी बनिरहने? अब जनता सचेत भइसकेका छन्,’ उनले भनिन्।

थापाले देश बिगार्नमा शेरबहादुर, प्रचण्ड र केपीकोमात्र होइन तिनका पछाडि लाग्ने कार्यकर्ताको पनि हात रहेको बताइन्। ‘देश बनाउन र राष्ट्रिय जोगाउन सही पार्टीलाई ल्याउनुपर्छ। यो सबै कुराको लेखाजोखा स्थानीय तह चुनावबाट गर्नुपर्छ। राष्ट्रियता धर्म संस्कृति रक्ष जोगाउने जिम्मा नेपाली जनतामा आइपुगेको छ। नेपाली जनता सधै रैती हुन सक्दैन,’ उनले भनिन्।

रोजगारी दिने, महिलाहरुको सुरक्षा दिने एजेण्डा लिएर राप्रपा आएको भन्दै थापाले एकपल्ट सेवा दिने मौका दिन आग्रह गरिन् । अर्कोपल्ट भोट माग्न नआउनेगरी काम गर्ने प्रतिबद्धता थियो।

‘देश बनाउन तीनै तहमा राप्रपालाई जिताउ। शिक्षासहित सबै क्षेत्रमा हामी अब्बल काम गर्छौं। त्योभन्दा पहिला राष्ट्रियता पहिचान कायम गर्छौं। नेपाल हिन्दु राष्ट्र बनाउने अभियानमा लाग्छौं,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया