फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेताको रुपमा सानदार डेब्यू गरेका धिरज मगर करीब ४ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । उनी अभिनीत तेस्रो तर रिलिजको दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शन हुँदैछ । टिजर रिलिजपछि उनको आवाजलाई लिएर टिका-टिप्पणी भइरहेको छ । प्रायःले उनको आवाज फिल्म ‘कबड्डी’को ‘वीरकाजी’ पात्रसँग दुरुस्तै मिलेको बताएका छन् ।

धिरज भने ‘बाबरी’मा आफ्नो क्यारेक्टर काजी नै रहेकाले आवाज मिल्दोजुल्दो सुनिनुलाई सामान्य बताउँछन् । ‘म दयाहाङ राई दाईलाई आइडल मान्छु । हामीले उहाँ जस्तो कलाकारकै बाटोमा हिँड्ने हो,’ उनले भने, ‘आवाज ‘वीरकाजी’को जस्तो आयो भनेर जसरी प्रतिक्रिया आएको छ, ‘बाबरी’मा विक्रान्तको क्यारेक्टर पनि काजी नै हो । त्यसैले पनि कति कुराहरु मिल्न गएको होला ।’

अभिनयको हिसाबमा दयाहाङ राईसँग तुलना भएकोमा भने धिरज गर्व महशुस गर्छन् । उनले ‘बाबरी’मा बोलेको बोल्ड आवाज आफ्नै रहेको पनि स्पष्ट पारे । विक्रान्तको क्यारेक्टर आफूभन्दा विल्कुलै फरक रहेको बताउँदै उनले त्यसमा आफूलाई ढाल्नका लागि निकै मिहिनेत गर्नुपरेको बताए । छोटो समयमै आफूले गाउँघरको हाउभाउ, बोली, पूर्वेली भाषा सिकेको उनको भनाई छ ।

उनले आफू स्टार बन्न नआएको पनि बताएका छन् । ‘मैले पहिलो फिल्म गर्दा नै म स्टार बन्न र कसैको ठाउँ लिन आएको होइन भनेको थिएँ । म राम्रो कलाकार बन्न चाहन्छु । त्यसैले हरेक फिल्ममा फरक-फरक भूमिका गर्न मन पर्छ,’ धिरजले अगाडि भने, ‘मैले फिल्म क्षेत्रमा अझै आफ्नो ठाउँ बनाएको छु जस्तो लाग्दैन । म अझै आफ्नो स्थान बनाउँदै छु र धेरै कुरा सिकिरहेको छु ।’

तपाईको प्रतिक्रिया