२०७७ सालमा नेपाली फिल्मले एउटा सिर्जनशिल लेखक तथा निर्देशक छेतन गुरुङलाई गुमायो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता फिल्मको पटकथा तथा संवाद लेखेका उनले ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा हात हालेका थिए । आफूले परिकल्पना गरेर निर्देशन गरेको ड्रिम प्रोजेक्ट ‘प्रेमगीत ३’ भने उनले हेर्न पाएनन् । यो फिल्मको पटकथा तथा संवाद उनकै हो ।

‘प्रेमगीत ३’ हिन्दीमा डब भएर यतिबेला भारतमा समेत प्रदर्शन भइरहेको छ । यो क्षण एउटा नेपाली निर्देशकका लागि ठूलो सपना हो । तर, उनले आफ्नो सपना पूरा भएको पनि देख्न पाएनन् । फिल्मका हरेक गतिविधिमा निर्मातादेखि कलाकारसम्मले उनलाई सम्झिने गरेका छन् । गत हप्ता काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङलाई सम्झिएर फिल्मको टिम भावुक भएको थियो ।

‘प्रेमगीत ३’को काम भइरहँदा गुरुङले निर्माता सन्तोष सेनलाई आफ्नो घरायसी जीवनको बारेमा पनि बताउने गरेका थिए । आफ्नो एकतले घरलाई दुईतले बनाउने उनको सपना थियो । अब निर्देशक गुरुङको त्यो सपनालाई निर्माता सेनले पूरा गर्ने भएका छन् । सेनले आइतवार मिडिया र निर्देशक गुरुङको आमालाई साक्षी राखेर फिल्मले नकमाए पनि घरको तल्ला थपिदिने घोषणा गरे ।

उनले भने, ‘छेतन दाईले छाड्नुभएको सृजना अहिले विश्वमा लागेको छ । यस्तो सृजना भएको मान्छे जन्माउनु भएकोमा आमालाई धेरै-धेरै धन्यवाद । एकतले घरलाई दुईतला बनाउने छेतन दाईको सपना थियो । म आज आमाको अगाडि भन्छु कि फिल्मले भलै पैसा नकमाओस् तर हजुरको घर बन्छ ।’ निर्माता सन्तोष सेनको यो घोषणा निर्देशक छेतन गुरुङप्रति वास्तविक श्रद्धाञ्जली हो ।

तपाईको प्रतिक्रिया