काठमाडौँ । नेपाल पत्रकार महासंघले, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाल नियमन तथा अनुगमन गर्ने तयारी गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीले शुक्रवार विज्ञप्ति निकालेर आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना र नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे हाे ।

विज्ञप्तिमा सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिवको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।

सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएकाे स्मरणा गराउँदै क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुंशतन्त्रमा मात्र हुने भन्दै पत्रकार महासंघले लोकतान्त्रिक व्यवस्थामा यो अशाेभनीय हुने महासंघको भनाइ छ ।

महासंघले आयोगको यो निर्णय तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

संविधानले प्रत्याभूत गरेका अधिकार खोस्ने अधिकार कसैलाई नभएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने निणर्य तत्काल सच्याउन आयोग नेतृत्वको ध्यानाकर्षण गराउँदै अन्यथा नेपाली सञ्चार क्षेत्रले आयोगको निर्णयको प्रतिवाद र अवज्ञा गर्ने चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया