लोकप्रिय अभिनेता सलोन बस्नेतले हिजो (सोमबार) विवाह गरे । एयर होस्टेस तथा मोडल करिश्मा केसीसँगको ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् । एकातिर उनले घरमा दुलही भित्राउँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । तर, उनको विवाहमा उपस्थित भएका जन्ती जति पनि फिल्मले हलमा दर्शक पाउन सकेको छैन ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दिन फिल्मलाई आफ्नो देशभरका च्यानलमा ५ शोज उपलब्ध गराएको थियो । तर, फिल्मलाई दिएको शोमा दर्शकको हाहाकार भएपछि क्यूएफएक्सले मंगलवार २ शो र बुधवारका लागि एक शो दिएको छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले त दर्शक अभावका कारण फिल्मलाई दुई/तीन दिनमै उतारिसकेका छन् ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउँदा खुसी भएका सलोनलाई ‘मिलन’को असफलताले भने निराश तुल्याएको छ । हुन त उनका लागि फिल्म नचल्नु सामान्य भइसकेको छ । ‘मिलन’सहित यस वर्ष उनको ‘लक्का जवान’ र ‘घनचक्कर’ गरी तीन फिल्मले असफलता भोगिसकेका छन् । अब उनलाई पुष १५ गते प्रदर्शन हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’बाट ठूलो आशा र अपेक्षा छ ।
‘मिलन’लाई दर्शक हाहाकार हुनुमा दुईटा कारक तत्व छ । पहिलो, पब्लिसिटीमा चुक्नु । निर्माताले पैसामा मुठ्ठी कस्दा दर्शकसम्म फिल्मको जानकारी नै पुग्न सकेन । जसले गर्दा हलमा फिल्म लागेकै थाहा भएन । दोस्रो, ‘वर्ड अफ माउथ’ बलियो नहुनु । फिल्म हेरेकाहरुले मन खोलेर प्रशंसा नगर्दा हलमा दर्शकहरु नै बढ्न सकेनन् । अन्ततः ‘मिलन’ यस वर्षको डिजास्टर फिल्म बनेको छ ।