काठमाण्डौ पौष ५ – राधिका डोटेल र राजेन्द्र श्रेष्ठको स्वरमा भर्खरै मात्र एक रोमान्चक गीत ‘मायाजाल’ सार्वजनिक भएको छ । अडियो संगै यस गीतको भिडियोलाई पुष ३ गते गायिका राधिकाकै आधिकारिक युट्युब च्यानल Dotel Radhika Khatiwada बाट डिजिटल बजारमा सार्बजनिक गरिएको हो । गीतमा राधिकाकै शब्द/लय रहेको छ भने कृष्ण पुनले संगीत संयोजन, मिक्सिङ र माष्टरिङ गरेका छन् ।

भिडियोलाई सन्जिला विश्वकर्माको कथा, निर्देशन र कोरियोग्राफीमा छायाङ्कन गरिएको हो । जसमा नवीन गिरीको सिनेम्याटोग्राफी र राज धामीको सम्पादन रहेको छ । यसैगरी भिडियोमा गायिका राधिका, गायक राजेन्द्र र रेशम मगरले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य दर्जनौं कलाकारलाई पनि देख्न सकिन्छ ।

लामो समयदेखिको सल्लाह भएपनि प्रतिकूल स्थितिका कारण सर्दै गएको योजना बल्ल पूरा भएको जानकारी गराउँदै राधिका भन्छिन् -‘धादिङका राजेन्द्रजी पहिलादेखि नै मेरो फ्यान हुनुहुँदो रहेछ । २-३ वर्ष अगाडि नै उहाँसँग एउटा युगल गीत गाउने सल्लाह भएको थियो, तर कोरोना लगायतका कारण मिति सर्दै गयो । आफ्नै फ्यानसँग गीत गाउने मेरो योजना बल्ल आएर पूरा भएको छ ।’

बाल उमेरदेखि नै गीत-सङ्गीतप्रति गहिरो अभिरुची भएकी राधिकाको पुर्ख्यौली थलो डोटी भएपनि उनी जन्मे-हुर्केको ठाउँ भने काभ्रेपलाञ्चोक हो । २०५७ सालमा ४ कक्षामा पढ्दा नै गीत प्रस्तुतिका लागि स्टेज उक्लिएकी निडर स्वभावकी राधिका र उनको समूह त्यो बेला १५ वटा स्कुलले भाग लिएको लोकगीत प्रतियोगितामा दोस्रो भएको थियो । जुन गीत उनी स्वयमले नै रचना गरेकी थिईन् भने सङ्गीत पनि उनकै थियो ।

‘केटाहरुसँग बसेर गीत गाउन लाज लाग्दैन ?’ त्यो बेला गाउँका मान्छेहरुले मनमै बिझ्नेगरी प्रश्नका झटारो हान्ने गरेको उनी सम्झन्छिन् । ‘गाउँमा मान्छेहरुको अत्यन्तै संकुचित सोच थियो । छोरी मान्छेले गीत गाएको राम्रो मानिदैन थियो । धेरै सङ्घर्ष गरेर मैले गायनलाई निरन्तरता दिईरहें । अरुले जेसुकै भनेपनि स्कूलमा कार्यक्रम हुँदा गीत गाउन कहिल्यै छाडिन । म गाउँमै पहिलो महिला गायिका हो’ उनले विगतका तीता अनुभवहरुको बेलिबिस्तार लाइन् ।

सेलो, काँठे, लोकदोहोरी आदि गरी हालसम्म लगभग १ दर्जन गीत रेकर्ड गरिसकेकी राधिका आफ्ना गीतका शब्द-सङ्गीत आफैं सिर्जना गर्ने गर्दछिन् । ‘कसम खानेको, बैना रुमाल, भेटौं घरमुनी, आउन पाईन दसैँ तिहारमा’ आदि उनका लोकप्रिय गीत हुन् । लोकदोहोरीको क्षेत्रमा शिक्षित गायिकाको रुपमा समेत चिनिन्छिन् उनी ।

स्नातकोत्तर सम्मको अध्ययन गरेकी राधिकाले थेसिस पनि लोकदोहोरीमै गरेकी छिन् । उनका डायरीका पानामा दर्जनौं लोक, लोकदोहोरी, आधुनिक र गजलहरु रेकर्डको पर्खाईमा छन् । चित्त नबुझेको कुरा स्पष्ट रुपमा राख्ने, हक्की स्वभावकी सर्जक/कलाकार राधिका बाहिरबाट अरुले जसरी मूल्याङ्कन गरेपनि वास्तविक रुपमा आफू नरम दिलको भएको कुरा बताउँछिन् ।

मायाजाल बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया