नेपालको सुन्दरतालाई कुनै विदेशी फिल्मले आकर्षक रुपमा देखाएको छ भने त्यो बलिउड फिल्म ‘उचाइँ’ हो । फिल्ममा नेपालका डाँडाकाँडादेखि सगरमाथा बेसक्याम्पसम्मको दृश्यले जो कोहीलाई लोभ्याउँछ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेमा दुईमत छैन । विश्वलाई नेपालको पर्यटकिय गन्तव्य देखाउन र चिनाउन बलिउडले दिएको यो एउटा अमूल्य उपहार हो ।

नेपालमा ७५ प्रतिशत छायांकन भएको फिल्ममा बलिउडका प्रख्यात हस्तीहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, परिणिती चोपडा, सारिका ठाकुर, नीना गुप्ता, नफीसा अली, शीन दासलगायतको अभिनय रहेको छ । मित्रताको कथा बोल्ने फिल्मले भारतमा औसत व्यापार गर्‍यो । ३० करोडको लागतमा निर्माण भएको फिल्मले भारतमा ३२ करोड कमाएको छ ।

यो फिल्मलाई सुनिल मानन्धरको समुहले भारु ७५ लाख (नेपाली १ करोड १९ लाख) मा नेपाल भित्र्याएको हो । यो मूल्य भारतका ठूला स्टार र प्रतिक्षीत फिल्मलाई मात्र तिर्ने गरिन्छ । तर, ‘उचाइँ’ न प्रतिक्षीत फिल्म थियो न आक्रामक कमाईको ग्यारेन्टी गर्ने फिल्म । मानन्धरको समुहले नेपालको प्राविधिक टिम संलग्न भएको र नेपालमा खिचिएकाले फिल्मलाई यो रकम तिरेको थियो ।

प्रदर्शनपूर्व ‘उचाइँ’ले नेपालमा उच्च व्यापार गर्ने आँकलन गरिएको थिएन । नेपालको वितरक समुहलाई पनि फिल्म ठीकठाक मात्र चल्ने अपेक्षा थियो । तर, फिल्मले प्रदर्शनको दुई/तीन हप्ता आक्रामक व्यापार गर्‍यो । नेपालको दृश्यको चर्चा हुँदा हलमा दर्शक ओइरिए । अहिलेसम्म पनि यो फिल्म केही मल्टीप्लेक्सहरुमा टिकिराखेको छ । यसको मतलब दर्शक अझै पनि आइरहेका छन् ।

तर, के फिल्मले नेपालमा वितरकको पैसा उठायो त ? वितरक मानन्धर फिल्मबाट नाफा कमाउन नसकेको बताउँछन् । बरु केही घाटा भएको उनको दाबी छ । उनी भन्छन्, ‘१ करोड १९ लाख जतिमा हामीले फिल्मको नेपाल अधिकार लिएका हौं । हलसम्म आउँदा १ करोड ३० लाख जति पुग्यो । यति कमाउन फिल्मले ४ करोड ग्रस त गर्नुपर्छ । फिल्मले त्यही ४ करोड जति कमायो ।’

फिल्मबाट ५/१० लाख घाटा हुनसक्ने तर नाफा नभएको उनको भनाई छ । उनी ‘उचाइँ’लाई तिरेको रकम ठूलो भएकाले नाफा कमाउन नसकिएको बताउँछन् । उनले भने, ‘हामीले फिल्मलाई धेरै नै ठूलो रकम तिरेका हौं । खासमा यो फिल्मको नेपाल मूल्य ५ देखि १५ लाखसम्म हो । यो फिल्ममा उपकरण दिएकाहरु मेरो पार्टनर भएकाले उनीहरुकै आग्रहमा त्यति रकम तिरेको हुँ ।’

फिल्मबाट नाफा कमाउन नसके पनि मानन्धर सन्तुष्ट छन् । ‘पैसा नकमाए पनि नाम भयो भन्ने लाग्छ,’ उनी सुनिए, ‘पर्यटन बोर्डले मलाई बैठकमै बोलाएर के सहयोग गर्नुपर्छ हामी तयार छौं भनेको थियो । मेरो लागि यही नै ठूलो मुनाफा हो । नेपालको पर्यटन प्रवद्र्धनमा यो फिल्म कोशेढुंगा सावित हुनेछ ।’ हाल उनीसँग ‘छड्के २’, ‘डिसेम्बर फल्स’ फिल्म वितरणको पाइपलाइनमा छन् ।

तपाईको प्रतिक्रिया