बलिउडका सुपरस्टार शाहरुख खानको फ्यान फलोइंग नेपालमा लोभलाग्दो छ । उनका फिल्म ‘फस्ट डे फस्ट शो’ हेर्ने मात्र होइन, जन्मदिन समेत धुमधामले मनाउने फ्यानको संख्या नेपालमा ठूलो छ । त्यसमा अहिलेकी लोकप्रिय अभिनेत्री पूजा शर्मा पनि पर्छिन् । उनी शाहरुखको यति ठूलो फ्यान हुन कि २०७१ सालमा शाहरुख नेपालमा आउँदा भेट्न नपाएकोमा उनी रोएकी समेत थिइन् ।

उनै, पूजाले शाहरुखको ५ वर्षपछिको कमब्याक फिल्म ‘पठान’ बुधबार ‘फस्ट डे फस्ट शो’ हेरेकी छन् । शाहरुखको फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुन्धाराको सिडिसी सिनेमाजमा आयोजना गरेको शोमा उनले ‘पठान’ रिलिजको खुसीयालीमा केक समेत काटिन् । शाहरुखका फ्यानहरुसँग रमाउँदै केक काटेको तस्विर र भिडियो क्लिप्स उनी आफैंले इन्स्टाग्राम स्टोरीमा राखेकी छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा ‘पठान’लाई उत्कृष्ट एक्सन फिल्म भन्दै शाहरुखको फ्यान भएकोमा गर्व रहेको उल्लेख गरेकी छन् । उनी आफ्नो आइडल हिरोको ५ वर्षपछिको कमब्याक फिल्म हेर्न महिनौंदेखि औंला भाँचेर बसेकी थिइन् । तर, एक भारतीय नायकको फिल्म लाग्दा यसरी हर्षउल्लास मनाउन नाम चलेको अभिनेत्रीलाई शोभा नदिने भन्दै कतिपयले आलोचना समेत गरिरहेका छन् ।

भारतमा ४० करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएको ‘पठान’ले नेपालमा पहिलो दिन एक करोडमाथिको ओपनिङ गर्ने आँकलन गरिएको छ । ‘रिभ्यू’ पनि तगडा पाएकाले फिल्म लामो रेसको घोडा बन्ने देखिएको छ । शाहरुखका पछिल्ला २/३ वटा फिल्म सफल हुन सकेका थिएनन् । ‘पठान’ले उनको जबर्जस्त कमब्याक गराएको छ । फिल्ममा सुपरस्टार सलमान खानको केमियो छ ।

तपाईको प्रतिक्रिया