विराटनगर / विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् ।

अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।

एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको जनाइएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्गमा एक्स्पो हुन लागेको हो । एक्स्पोलाई ऐतिहाँसिक बनाउने उदेश्यका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ ।

माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढि युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए । उनीहरुलाई आवेदनका आधारमा नियुक्त गरी एक्स्पोको सचिवालयदेखि स्टलहरुमा परिचालन गरिएको जनाइएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन थप संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेको शर्माले जानकारी दिए । करीव ४०० वटा वस्तु तथा सेवा उत्पादकहरुले आफ्ना उत्पादनको प्रदर्शन र विक्री वितरणका लागि स्टल बुकिङ गरिसकेका छन् ।

एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिने तयारी भइरहेको छ । त्यसका साथै थारु जातीको साँस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिने जनाइएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माणको काम जारी रहेको छ ।
टिकटको विक्री वितरणलाई सहज बनाउन सकेसम्म अनलाइन गेटवे ‘खल्ती’ वालेट प्रयोग गर्न सीएनआईले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया