मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जनालाई प्रहरीले रिहा गरेको छ।

बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो।

कलाकार पवन खतिवडा ‘म्याकुरी’ र भण्डारीले बेलबारी–५ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार कुटपिटबाट कार्की सामान्य घाइते भएका छन्। पक्राउ गरेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको थियो।

पीडितले पक्राउ परेका विरुद्ध उजुरी नदिई दिनभरी इप्रकामा बसेर छलफल गरी दुवै पक्ष सहमति गरेको डिएसपी कार्कीले बताए। दुवै पक्षबिच सहमति भएपछि बुधवार साँझमा प्रहरी नियन्त्रणमा रहेका खतिवडा र भण्डारीलाई छाडेको प्रवक्ता डिएसपी कार्कीले बताएका छन्।

तपाईको प्रतिक्रिया