फिल्मको नायकको सम्बन्धमा रहेको परम्परागत धारणा भत्काएका अभिनेता दयाहाङ राई अभिनयमा अब्बल छन् । यसैले त उनी विगत एक दशकदेखि नेपाली फिल्ममा गजबले छाइरहेका छन् । मौलिक र खाँटीपनको कथामा फिल्म बनाउन चाहने धेरैजसो निर्माता-निर्देशकको पहिलो रोजाइमा उनी नै पर्ने गर्छन् । उनले पनि राजेश हमाल शैलीमा फिल्मको संख्या बढाउँदै लागेका छन् ।

दयाहाङले संख्यात्मक वृद्धिमा जोड दिँदा अब आफ्नै फिल्म एकै मितिमा भिड्ने अवस्था आउन थालेका छन् । आगामी बैशाख १ गते उनी अभिनीत दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ प्रदर्शन हुँदैछन् । उनले ‘बिहे पास’लाई पछाडि धकल्ने प्रयास नगरेका होइनन् । तर, निर्माताले नै टेरेनन् । आफ्नै दुई फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि कुन फिल्मको प्रचार गर्ने भन्ने दबावमा उनी छन् ।

शनिबार महाशिवरात्रीको अवसरमा ‘बिहे पास’को केही थान पोस्टरहरु सार्वजनिक गरिएको थियो । दयाहाङले फेसबुकमा पोस्टर त शेयर गरे तर चलाखीपूर्ण हिसाबले । उनले ‘जारी’को पनि प्रचार गर्दै लेखेका छन्, ‘बैशाख १ मा ‘जारी’ गरेर ‘बिहे पास’ हुने भो ।’ दयाहाङलाई ‘बिहे पास’भन्दा ‘जारी’प्रति नै बढी आशा छ । हुन पनि, आफूलाई स्टार बनाएको ‘कबड्डी’ समुहको फिल्म न पर्‍यो ।

प्रवेश पौडेलद्वारा निर्देशित ‘बिहे पास’मा दयाहाङको जोडी अभिनेत्री प्रकृति श्रेष्ठसँग बाँधिएको छ । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा रविन्द्र झा, बद्धि तामाङ, शिशिर बाङ्देल, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, प्रकाश भुजेलको पनि अभिनय छ । बिहेको कथामा बनेको फिल्ममा शिव ढकालको छायांकन र मित्र देव गुरुङको सम्पादन छ ।

तपाईको प्रतिक्रिया