काठमाडौं : एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोजस्ता कार्यक्रम आयोजना गरेर ख्याती कमाएको निकिला मिडिया नेटवर्क र भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ।

देश तथा विदेशमा नाम कमाउन सफल अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरूलाई उनीहरूले पुर्‍याएको योगदानको सम्मानका लागि अवार्ड आयोजना गर्न लागिएको हो। आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेलले इभेन्ट क्षेत्रमा लामो अनुभवपछि पृथक किसिमको अवार्ड आयोजना गर्न लागिएको बताए।

गत वर्ष भएको पहिलो संस्करणमा ३५ विधामा अवार्ड प्रदान गरिएको थियो। यस पटक पनि चार जनाको निर्णायक मण्डलले प्रत्येक क्षेत्रका दिग्गज स्रष्टा छनोट गर्ने र चैत १७ मा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा, आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन संघका महासचिव सोनीतराज ढुंगेल, पेजेन्ट नेपालका प्रमुख राज लुइँटेल, शिक्षाविद् रमा प्याकुरेल, स्वास्थ्य व्यवसायी गोपाल खड्का, युवा समाजसेवी अनिल नगरकोटी, गीता एभियसनका अच्युत गुरागाईं, ग्लोबल टुरिज्म काउन्सिलका प्रमुख धर्मेन्द्र सापकोटा, प्रोजेक्टाइल क्रियसनका प्रमुख सौरभ मल्ल, आयोजक समिति निकिला मिडियाका निर्देशक निकिला न्यौपाने, टाइम्स स्क्वायरका प्रबन्ध निर्देशक राजन ढकाललगायतले दोस्रो संस्करणको औपचारिक घोषणासँगै डमी अवार्डको प्रर्दशनी गरेका थिए।

बाँस्कोटाले अवार्डका नाममा हुने विवादित क्रियाकलाप हटाउँदै विशुद्ध सामाजिक एवं सेवाभावका लागि अवार्ड आयोजना गरेकाले आयोजकलाई धन्यवाद दिएका थिए।

तपाईको प्रतिक्रिया