काठमाडौं, १४ फागुन
नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत श्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५ औं जन्म जयन्ती मनाईएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले आईतबार प्रतिष्ठानकै कार्यालयमा गुरुङको ८५ औं जन्म जयन्ती मनायो ।
अम्बर गुरुङको तस्बिरमा माल्यापर्ण गर्दै सो प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई, सदस्य सचिब कुश्मा महरा (प्रगति), नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिब डा. धनप्रसाद सुवेदी, ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रदीप अधिकारीलगायतले गुरुङप्रति श्रद्धासुमन अर्पण गरे ।
सो प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् गायिका द्धवय राधा राई र कला राईले गुरुङको गीत गाउँदै उनलाई सम्झिए । कार्यक्रममा राधाले सम्हालेर राख… र कलाले पोखिएर घामको झुल्का..गीत गाएका थिए ।
संगीत नाट्यकी कुलपति शर्माले अम्बर गुरुङसँग बिगतमा भेटघाट र काम गर्दाको अनुभव सुनाउँदै नेपाली सुगम संगीतमा गुरुङको योगदानको चर्चा गरिन् ।
कार्यक्रमका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गुरुङलाई ‘स्कुल अफ म्युजिक’को उपमा दिँदै आफ्नै गीत लेख्ने, संगीत गर्ने र गाउने अग्रज पुस्ताका थोरै कलाकारहरुमा अम्बर गुरुङ पनि एक भएको बताए ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट संगीतकार शम्भु राईले नेपाली सुगम संगीतको प्रवर्धनमा अम्बर गुरुङको योगदानको जति चर्चा गर्दा पनि कम हुने बताए । सुगम संगीत युगका प्रतिनिधि संगीतकार गुरुङले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहेर काम गरेको पनि उनले स्मरण गरे ।
सो प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कर्णबहादुर गौतमले कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका गुरुङको जन्म १९९४ साल १४ फागुनमा दार्जिलिङमा भएको बताए । अर्का प्राज्ञ परिषद सदस्य डाक्टर किरातले उनको पथलाई पहिल्याएर नयाँ पुस्त हिड्नु पर्ने कुरा सुझाए ।

तपाईको प्रतिक्रिया