बचतकर्ताको रकम ठगीको आरोपमा पक्राउ परेका विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीन जना सञ्चालकलाई प्रहरीले आज (सोमबार) सार्वजनिक गरेको छ ।

शेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष विराटनगर–६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर–१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–३ घर भएका मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका–२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थामा आबद्ध १२१ जना बचतकर्ताले रकम ठगी गरेको भन्दै उनीहरूविरुद्ध १२१ जना शेयर सदस्य एवं बचतकर्ताले १२ करोड ९ लाख ४,४८७ रुपैयाँ रकम ठगी गरेको आरोपसहित आइतबार आठ जना सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।

तीमध्ये प्रहरीले अहिलेसम्म संस्थाकी उपाध्यक्ष गौतम, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवासलाई पक्राउ गरेको हो । अन्य पाँच जना सञ्चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएका छन् । उनीहरूको नाम प्रहरीले अहिले सार्वजनिक गरेको छैन ।

सहकारीमा बचत गरेको रकम उपलब्ध गराउन माग गर्दै शेयर सदस्यहरूले संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मासहित अन्य सञ्चालकविरुद्ध ठगीको उजुरी दिएका छन् । प्रहरी उपरीक्षक पोखरेलले उक्त घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग समन्वय गरी अनुसन्धान शुरु गरिएको जानकारी पनि दिएका छन् ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले शेयर सदस्यले बचत तथा निक्षेपमा राखेको रकम भाका नाघ्दा पनि दिन नसकेको भन्दै दुई साताअघि जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका थिए । उजुरीलगत्तै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको रोहबरमा पीडित बचतकर्ता र सहकारी सञ्चालकबीच छलफल गरिएको थियो । छलफलमा संस्थाका अध्यक्ष शर्मासहित सञ्चालकहरूले पाँच दिनभित्र शेयर सदस्यको रकम उपलब्ध गराउने सहमति गरेका थिए । सो अवधि नाघेपछि शेयर सदस्यहरूले पुनः प्रशासनलाई गुहार्नुका साथै सञ्चालकहरूको घर घेराउ गरेका थिए ।

अध्यक्ष शर्माले सहकारीका नाममा विभिन्न ठाउँमा भएको सम्पत्ति बेचेर बचतकर्ताको रकम असुल गर्ने बताएका थिए । तर अहिले उनी फरार छन् । सहकारीले बचतकर्ताहरूको सबै पैसा विराटनगर–१९ मा स्थापित तुलसी मोटर पम्प, विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, उदयपुर र दमकमा गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर सञ्चालन, चिया बगान र चिया उत्पादनलगायतमा लगानी गरेको पाइएको छ ।

केही दिनअघि सहकारीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा शेयर बचतकर्ताले समयमा पैसा नदिएको भन्दै तालाबन्दी गरेका थिए । त्यहाँको समस्या अझै पनि समाधान भइनसकेको जनाइएको छ । प्रहरीका अनुसार मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिरहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा २१ हजार ७१३ जनाभन्दा बढी साना–ठूला बचतकर्ताहरूको विभिन्न प्रकारका खाता छन् । यति धेरै सदस्यबाट संकलित रकमको सुरक्षा भने देखिएन ।

केही दिनअघि मात्र उक्त सहकारीले सर्वसाधारण बचतकर्ताको ५ हजार रुपैयाँको चेक पनि नसाटेपछि त्यहाँभित्रको वित्तीय अवस्था जोखिम रहेको थाहा पाएर बचतकर्ताहरू आफ्नो सम्पूर्ण रकम माग्न सहकारी कार्यालयका शाखाहरूमा पुगेका थिए ।
दुई अर्ब रुपैयाँभन्दा बढी शेयर पुँजी भएको यो सहकारी २०७१ सालमा स्थापना भएको हो । सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर यही फागुन १ देखि बन्द छन् । तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिव शिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिव शिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ ।

२०७१ सालमा विराटनगरमा खुलेको तुलसी सहकारीले झापाको दमक र उदयपुरको गाईघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजारभन्दा बढी सर्वसाधारणले १ अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् । प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ । सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायत क्षेत्रमा लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया